चितवनः यही वैशाख ९ गतेदेखि ११ गतेसम्म आठौं नेपाल फर्मा एक्स्पो २०२२ भरतपुरमा हुने भएको छ । नेपाल औषधि उत्पादक संघले चितवन एक्स्पो सेन्टर भरतपुर एक्स्पोको आयोजना गरेको हो ।

संघका निवर्तमान अध्यक्ष एवं एक्स्पो संयोजक जी नारायण बहादुर क्षेत्रीका अनुसार एक्स्पोमा स्वदेशी र विदेशी गरी १५० स्टल रहने छन । नेपाली, भारतीय र बंगलादेशको एउटा स्टल रहने उहाँले जानकारी दिनुभयो ।

औषधी क्षेत्रमा नयाँ प्रविधिको खोज गरिरहेका विभिन्न बहुराष्ट्रिय कम्पनी र नेपाली औषधी उद्योगहरुले एक्स्पोमा भाग लिनेछन । एक्स्पोको अवसर पारेर विभिन्न प्राविधिक एवं नीतिगत विषयमा छलफल तथा गोष्ठी आयोजना हुनेछन् ।

नेपालमा उत्पादन हुँदै आएका औषधी र औषधी उत्पादनमा प्रयोग हुने प्रविधि, ल्याव, मेसिनहरु, कच्चापदार्थ, प्याकेजिङ मेटेरियल लगायतहरुमा पछिल्लो समयमा भएका विकासहरुको प्रदर्शनी हुने क्षेत्रीले जानकारी दिनुभयो । उहाँले नेपालमा गुणस्तरीय र आवश्यक परिमाण औषधि उत्पादन हुन सक्छ भन्ने कुरालाई जनमानसमा लैजाने उद्देश्यले एक्स्पो आयोजना गर्न लागिएको बताउनुभयो ।

संघका उपाध्यक्ष एवम् एक्स्पोका मिडिया कोर्डिनेटर सन्तोष बरालले यस पटकको एक्स्पो नेपालमा औषधि उत्पादन क्षेत्रले अगाल्दै आएको ज्ञान तथा प्रविधीको विस्तार गर्ने अभियानमा केन्द्रित हुने बताउनुभयो । उहाँले विगत २० वर्षदेखि हरेक दुई दुई बर्षमा नेपाल फर्मा एक्स्पो हुँदै आएको भए पनि कोभिडका कारण रोकिएको बताउनुभयो । यस पटक आठौं एक्स्पो हुन लागेको हो । एक्स्पो १५ हजार बढीले अवलोकन गर्ने अपेक्षा आयोजकको छ । यसअघिको ७ औं एक्सपो पनि चितवनमा नै भएको थियो । एक्स्पोको राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख ९ गते उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस !