चितवनः जिल्लामा सञ्चालन गरिएको टाइफाईड रोग बिरुद्धको खोप १ लाख ७४ हजार १० जना बालबालिकाले लगाएका छन् । सात पालिकामा गरिएको खोप अभियानका क्रममा १५ महिना देखि १५ वर्ष सम्मका बालबालिकालाई खोप लगाईएको हो ।
यही चैत २५ गते देखि सुरु भएको खोप अभियानमा बालबालिकालाई खोप लगाइएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । अभियान बैशाख ४ गते सकीएको छ । कार्यालयका अनुसार भरतपुर महानगरपालिकामा ७९ हजार २ सय १६ जना, खैरहनी नगरपालिकामा १५ हजार २ सय २८ जना बालबालिकाले खोप लगाएका छन् । यस्तै माडी नगरपालिकामा ८ हजार ८ सय ४ जना, रत्ननगर नगरपालिकामा २० हजार ५ सय ६२ जना, राप्ती नगरपालिकामा १५ हजार ८ सय ६३ जना, कालिका नगरपालिकामा १२ हजार ५५ जना र इच्छाकामना गाउँपालिकामा ७ हजार २ सय २४ जना बालबालिकालाई खोप लगाईएको कार्यालयकी जनस्वास्थ्य अधिकृत गिताञ्जली ढकालले जानकारी दिनुभयो । ५ सय ४० खोप केन्द्रबाट खोप दिइएको हो ।
टाईफाईडको समस्या बढि मात्रामा १५ महिना देखि १५ वर्ष उमेर समुहका बालबालिकालाई हुने भएकाले बालबालिकालाई यो खोप लगाईएको उहाँले जानकारी दिनुभयो । दुशित खानेपानी र दिशा पिसाब गरिसके पछि साबुन पानीले हात नधोई खाने बानि बालबालिकामा बढि हुने भएकाले यो रोगबाट बढिमात्रामा बालबालिका प्रभावित हुने गरेको उहाँले बताउनुभयो ।
यो रोग प्रति १ लाख जनसंख्यामा १ हजार ६२ जनामा संक्रमण देखिने गरेको छ । १५ वर्ष मुनिका बालबालिका १ लाखमा १ हजार ९६० जनामा देखिने गरेको पाटन एकेडेमी फर हेल्थ साइन्सले गरेको एक अध्ययनले देखाएको उहाँले बताउनुभयो । राम्ररी पकाएको खाना मात्रै खाने र खानेकुरा छोपेर राख्ने, बासी सडेगलेको र झिङ्गा भन्केको खाना नखाने, सफा र सुरक्षित पिउने पानीको मात्र प्रयोग गर्ने गरि यो रोगबाट बाँच्न सकिने उहाँले जानकारी दिनुभयो ।