चितवनः राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले देशमा रहेको बेरोजगारी र गरिबी समस्या समाधानका लागि सहि नेतृत्व र पार्टी छान्न आग्रह गर्नु भएको छ। राप्रपाले आज यहाँ आयोजना गरेको आम सभालाई सम्बोधन गर्दै उहाँले निर्वाचनको समयमा सहि नेतृत्व छान्न नसक्दा बेरोजगार र गरिबीको अन्त्य हुन नसकेको बताउनु भएको हो ।
उहाँले भन्नुभयो “बेरोजगार र गरिबी अन्त्यका लागि सहि नेतृत्व छनोट गर्ने समय आएको छ।” ३२ वर्ष मौका पाउने नेता तथा दलहरुले जनताले अनुभूति गर्ने गरी देशको विकास गर्न नसकेको उहाँको भनाई थियो । उहाँले अब विकल्प सोच्ने बेला आएको बताउनुभयो । उहाँले भन्नुभयो “चुनावलाई ख्यालख्याल नठानौँ भोट दिनुभन्दा अगाडी हजार पटक सोच्नुस्, बाजे–बाउको पार्टी भनेर भोट नदिनुस्, ठिक पार्टी र ठिक नेता चुन्नुपर्छ ।” भोट दिदाँ छोरी दिएको जस्तो गरी सोचेर दिन उहाँले आग्रह गर्नुभयो । उहाँले थप्नुभयो “छोरी दिदाँ जति सोचेर बुझेर दिईन्छ त्यतीनै भोट दिदाँ सोचिएन भने देशले दुःख पाउँछ ।”गएका चुनावहरुमा ठिक पार्टी र नेता चुन्न नसक्दा देश र जनताले दुःख पाएको उहाँले बताउनुभयो ।
जनतालाई गाइगोठको वस्तु ठान्ने नेताहरुले जनताका समस्या हल गर्नै नसक्ने उहाँको भनाई थियो । उहाँले बन्न नसकेका पालिकाहरुको नेतृत्व गर्न एकचोटि राप्रपालाई दिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो “देश कस्तो बनाउने तीनै पालिकाको विकास गरेर देखाउँछौँ । नमुना पालिका बनाउनेछौँ ।”
कार्यक्रममा राप्रपाका उपाध्यक्ष बिक्रम पाण्डे र हेम्जङ् गुरुङ्ले आगामी निर्वाचनमा राष्ट्रबादीको जीत भएमा देशको देश र जनताले दुःख नपाउने बताउनुभयो । अहिले आँफुहरु देश बचाउनका लागि गुहार माग्न जनतामाझ आएको उहाँहरुको भनाई थियो । सो अबसरमा राप्रपाकी महामन्त्री कुन्ती शाही, प्रबक्ता ज्ञानेन्द्र शाही, सहायक महामन्त्री प्रेम बलायर, सह महामन्त्री रिना गुरुङ् लगाएतले बोल्नुभएको थियो । जिल्ला अध्यक्ष रुद्रप्रसाद ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बिभिन्न पार्टी परित्याग गरि राप्रपामा प्रबेश गर्नेहरुलाई स्वागत गरिएको थियो ।






