भरतपुर । खाडी मुलुकमा काम गरेर स्वदेश आएका दुई युवाले भरतपुरको चौबीसकोठीमा डेजर्ट डिलाइट्स रेस्टुरेन्ट खोलेका छन् । दुबई, कतार र साउदीमा रेस्टुरेन्ट क्षेत्रमा सात वर्ष काम गरेर आएका देवघाट निवासी सुमन भट्टराई र विष्णु पाण्डेले ८५ लाख रूपैयाँको लागतमा डेजर्ट डिलाइट्स सञ्चालन गरेका हुन् ।
रेस्टुरेन्टको बिहीबार उद्घाटन गरिएको हो । उनीहरुले घुम्ती रेस्टुरेन्टबाट पनि सेवा दिएका छन् । घुम्ती रेस्टुरेन्ट बनाउनमात्रै करिब २० लाख लागेको सुमन भट्टराईले बताए । स्पेसल परिकारका रुपमा चिकन सोर्मा र ग्रिल चिकन रहेको उनको भनाइ छ । रेस्टुरेन्टले सात जनालाई रोजगारी पनि दिएको छ ।
विदेशमा रहँदा देखेको र सिकेको सीपलाई नेपालमा आएर प्रयोग गर्ने प्रयास गरिएको उनी बताउँछन् । एस क्युब इन्जिनियरिङ एण्ड कन्स्ट्रक्सनले घुम्ती रेस्टुरेन्ट बनाएको हो । उक्त रेस्टुरेन्ट विभिन्न स्थानमा लगेर पनि सेवा दिन सकिन्छ ।






