चितवनः स्थानिय तहको निर्वाचन नजिकिदैं जाँदा जिल्लामा राजनैतिक गतिबिधिहरु बढेको भए पनि मतदाता शिक्षा तर्फ कसैको ध्यान गएको छैन । जिल्ला निर्वाचन कार्यालय समेत मतदाता शिक्षाको कार्यक्रमका बिषयमा अन्यौलमा रहेको छ ।
कार्यालयका प्रमुख भिमसेन कार्कीका अनुसार मतदाता शिक्षाको बिषयमा अहिले सम्म आयोगले कुनै निर्णय गरेको छैन । उहाँले भन्नुभयो “मतदाता शिक्षाको बिषयमा अहिले टुङ्गो लागेको छैन । केही दिनमा टुङ्गो लाग्छ ।” बिगतमा निर्वाचनका लागि आयोगले मत बदर नहोस् भनेर एक महिना अघि देखि मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने गदथ्यो । हरेक वडामा एक वा दुई जनाको दरले मतदाता शिक्षाका लागि कर्मचारी खटाउने गरेको भए पनि अहिले भने निर्णय नआउँदा अन्योलता छाएको हो ।
कार्कीले भन्नुभयो “अहिले मतदाताका लागि शिक्षा दिन अहिले आयोगले सञ्चार माध्यमको प्रयोग गर्ने तयारी गरेको छ । ”उहाँले थप्नुभयो “मतदाता शिक्षाका लागि एक मतदान स्थलमा दुई जना कर्मचारी खटिन सक्छन् ।” उनीहरुले निर्वाचनको दिनमा मतदान गर्न आउने मतदातालाई नमुना मत पत्रमा मतदान गर्न सिकाउने उहाँले बताउनुभयो । आयोगले खर्चमा मितव्ययीता अपनाएर निर्वाचन शिक्षा कार्यक्रमलाई सञ्चार माध्यमको प्रयोग गर्न लागेको हुन सक्ने कार्यालयले जनाएको छ ।
जिल्लामा सात स्थानीय पालिका रहेका छन् । एक महानगर, पाँच नगर र एक गाउँपालिका रहेको यस जिल्लामा १ सय ६१ मतदान स्थलमा ४ सय ५१ मतदान केन्द्र रहेका छन् । ती मतदान स्थलमा दुई जना कर्मचारीले मतदाता शिक्षा दिने छन् । यही बैशाखमा हुने निर्वाचनमा जिल्लामा ३ लाख ९७ हजार ६ सय ८५ मतदाता रहेका छन् ।
बि. सं. २०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा जिल्लामा ३ दशमलव ५१ प्रतिशत मत बदर भएको थियो । २ लाख ४० हजार १ सय १४ खसेको मतमध्ये ८ हजार १ सय ४१ मत बदर भएको कार्यालयले जनाएको छ ।
वि.सं. २०७४ सालको निर्वाचनमा भन्दा यसपटक ८४ हजार ६ सय ८३ मतदाता थपिएका छन् । नयाँ मतदातालाई मतदान प्रकृयाबारे ज्ञान नहुन सक्छ भने निर्वाचन प्रकृया परिर्वतन भैरहदा पुराना मतदाता पनि झुक्किन सक्छन् ।





