चितवन: गर्मी मौषम बढे संगै वन क्षेत्रमा हुन सक्ने डढेलो नियन्त्रणका लागी वन दस्ता तयार गरी कामलाई तिब्र पारिएको छ । डिभिजन वन कार्यालय चितवनका अनुसार आगलागी हुन सक्ने सम्भावित वनहरुलाई मध्यनजर गर्दै वन दस्ता तयार पारिएको हो ।
कार्यालयका सूचना अधिकारी बालकृष्ण खनालका अनुसार आबश्यकता अनुसार बढाउँदै लैजाने गरि १० जना वन डढेलो नियन्त्रणका लागि वनदस्ता परिचालन गरिएको छ । उनीहरुले समुदाय स्तरमा पुगेर डढेलोबाट हुन सक्ने क्षतीको बिषयमा जानकारी गराउने उहाँले बताउनुभयो । डढेलो लागेमा सूचना दिने र क्षती कम गर्ने बिषयमा समेत यस दस्ताले महत्वपूर्ण भूमिका निर्वाह गर्ने उहाँले जानकारी दिनुभयो ।
गर्मी समयमा जिल्लामा रहेका सामुदायीक र राष्ट्रिय वन क्षेत्रमा अत्याधिक डढेलो लाग्ने गर्दछ । यसलाई न्यूनिकरण गर्नका लागी कार्यालयले सामुदायीक वनका प्रतिनिधिहरुसंग छलफल अन्तरक्रिया र संयुक्त ¥यालि, आमा समुहहरुसंग छलफल लगाएतका कामहरु गरिरहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “डढेलो लाग्नै नदीन र लागेमा नियन्त्रण गर्नका लागि हामीले समुदाय स्तरमानै कामलाई तिब्र पारेका छौ ।”
डिभिजन वन कार्यालय अन्तर्गत जिल्लामा ९३ सामुदायीक वन, ५ धार्मीक वन, ४ सय ३१ कबुलोती वन र १ सय ७१ नीजी वन रहेका छन् । ती वन मध्ये डढेलोको मुख्य जोखिममा बरण्डाभार क्षेत्रमा रहेका १७ वटा सामुदायीक वनहरु रहेको खनालले जानकारी दिनुभयो । खनालका अनुसार मान्छेको पहुँच बढि हुने भएकाले यस क्षेत्र डढेलोको जोखिम हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस !