चितवनः चोकचौराहाका भट्टीपसल, चिया पसल लगायत सार्वजनिक ठाउँमा खुल्लम खुल्ला चुरोट खाने मानिसहरु देख्दा ललितपुरकाका गोविन्द अधिकारीलाई चुरोट खान मन लाग्यो । छ्याप्छ्याप्ती पाईने भट्टी पसलमा मादक पदार्थ खाने र ‘सानका साथ’ होहल्ला गर्दै हिड्नेहरुले उहाँलाई मादक पदार्थ सेवन गर्न प्रेरित ग¥यो ।
समाजमा खुल्लमखुल्ला रुपमा हुने यस्ता कार्यबाट विस्तारै लागुपदार्थको तलमा फस्नु भएका अधिकारी अहिले त्यही समाज सुधारको बाटोमा अघि बढ्नु भएको छ । बाल्यकालदेखि नै झण्डै १५ वर्षसम्म लागूपदार्थमा लिप्त रहनु भएका अधिकारी अहिले व्यवसायसँगै दुव्र्यसनीलाई पुनर्जीवनका लागि सन्देश प्रवाहका लागि सक्रिय हुनुहुन्छ ।
बि.सं. २०३८ सालमा जन्मिनु भएका अधिकारीले कक्षा ७ पढ्दादेखि नै चुरोट पिउन थाल्नुभयो । खराब लतका कारण अभिभावकले घरभन्दा टाढा चितवनमा ल्याएर आवासमा राखेर निजी स्कूलमा पढाउन थाल्नुभयो । तर उहाँको बानीमा सुधार आएन । झनै उहाँमा लागूऔषध दुव्र्यसनीको लत बढ्दै गयो ।
विदाको समयमा घर जाँदा काठमाण्डौंबाटै लागूऔषध बोकेर आउने र यहाँ आफू र साथीहरुलाई पनि खान प्रेरित गर्ने काममा उहाँको ध्यान जान थाल्यो । उहाँले चुरोसँगै मदिरा, गाँजा, चरेस, ड्रक्स प्रयोग गर्न थाल्नुभयो ।
आज दिउँसो रासस कार्यालयमा आईपुग्नु भएका अधिकारीले विगतलाई सम्झँदै भन्नुभयो “त्यतिबेलै म आफू मात्रै होइन, अरुलाई पनि यो लतमा फसाएको थिए ।” प्रवेशिका परीक्षामा राम्रै अंक ल्याएर उत्तीर्ण हुनु भएका उहाँ कक्षा ११ १२ पढ्दै गर्दा पूर्ण रुपमा नशामा डुब्नुभयो । त्यसपछिका उहाँका जीवन झनै कहालीलाग्दो बन्दै गयो । पढाई मात्रै रोकिएन, घरपरिवारले उहाँलाई धान्न सक्ने अवस्था रहेन । उहाँले भन्नुभयो “मेरा घरका दराजका ढोकाहरु सबै बाङ्गिएका थिए ।
लागुपदार्थ प्रयोगका लागि जसरी पनि पैसा जुटाउनै पर्ने भएपछि उहाँले चोरी, डकैती, लुटपाट केही छाड्नु भएन । प्रहरीले पक्राउ गरेको संख्या उहाँलाई पनि एकिन छैन । उहाँले भन्नुभयो “मेरो परिवारका मान्छेले कैयौं दिन मेरो कारणले खाना खान पाएनन् ।” खाना पकाउने कुकर, तरकारी पकाउने कराई, ग्यास सिलिण्डर, चुल्हो बेचेको उहाँलाई स्मरण छ । उहाँले भन्नुभयो “आमा रुँदै गर्दा मैले आमाको हातबाट लुछेर घरका धेरै सामग्री बेचेँ, मेरा भाई, बहिनी, बुबा, आमाले खाना नपाएका धेरै दिन छन् ।”
साँझमा आफूले खाना माग्दै गर्दा बिहानको घटना सम्झना हुने गरेको उहाँले बताउनुभयो । टोलमा मोटरसाईकलका तेल समेत चोरेर आजित पारेको, भारतीय र तराई मूलका नागरिक लुटेको, ट्याम्पो टेक्सीलाई लुटपाट गरेको, व्यवसायीहरुबाट हप्ता असुली गरेका जस्ता धेरै घटना उहाँको स्मरण ताजै छ । नसाकै सुरमा आमाको झुम्का लिएर घरबाट भागेको, होटलमा पैसा तिर्न नसक्दा त्यही काम गर्न थालेको, भारतमा पुगेर तीन वर्षसम्म काम गर्दै लागूऔषधमा लिप्त भएको कहाँनी उहाँले सुनाउनुभयो ।
उहाँले भन्नुभयो “भारतको पन्जाबमा दैनिक रु.८० कमाउँथे, रु.७० को लागुपदार्थ खान्थेँ, रु.१० को रोटी खान्थेँ ।” भारतको तीन वर्षको बसाईपछि नेपाल फर्किनु भएका उहाँले घरमा आउँदा परिवारले जीउँदै रहेको भन्ने आश मारेर बसेको बताउनुभयो ।
घर फर्किएपछि परिवारले उहाँको थप निगरानी राख्यो । बुबाले भनेको स्मरण गर्दै उहाँले भन्नुभयो “कहीं नहिड्नु बरु तैले खाने सबै मैले नै ल्याईदिन्छु भन्नुभयो ।” त्यसपछि अटोमोबाईलको व्यवसाय गर्नु हुने बुबाँसँगै उहाँ पनि काममा लाग्नुभयो । लत भने छुट्न सकेन । त्यसैबेला उहाँका परिवारले पुनस्र्थापना केन्द्र लग्नुभयो । एक महिना निकै कठिन समय पार गरेपछि क्रमशः उहाँमा सुधार हुँदै गयो । तीन महिनाको बसाईपछि उहाँ पूर्ण रुपमा लागुपदार्थ सेवनबाट मुक्त हुनुभयो ।
१५ वर्षको लागुऔषध दुव्र्यसनको कहालीलाग्दो जीवनबाट उहाँमा नयाँ जीवन पलायो । यससँगै विवाहबन्धनमा बाँधिएर दुई सन्तानका बाबु बन्नु भएका अधिकारी जहाँ आफू सुध्रनु भयो त्यही केन्द्रमा लगानी गरेर बाह्य सहयोगी बनिरहनु भएको छ । अहिले पनि सडकमा देखिने बालबालिकादेखि लागुऔषधमा लिप्त भएकाहरुलाई सुधारका लागि उहाँ समय खर्चिने गर्नुहुन्छ ।
विगत तीन वर्षदेखि पोखरा गएर गाडीको ग्यारेज सञ्चालन गर्दै आउनु भएका अधिकारी लागूऔषध भावनात्मक रोग भएको बताउनुहुन्छ । उहाँले भन्नुभयो “ लागुपदार्थ विनाको जीवन सुन्दर हुन्छ । यो रोग हो, निवारणाका लागि अपहेलना गर्नु हुँदैन, उपचार राम्रो गर्नुपर्छ । कुटेर पिटेर समाधान हुँदैन ।”
जीवनको सुनौलो १५ वर्ष समय वर्वाद भएकोमा पछुताउँदै उहाँले भन्नुभयो “समयमा सही र गलत छुट्याउन नसक्दा जीवनको उर्जासित समय यसै खेर गयो ।” लागुऔषध दुव्र्यसनहरुको उपचार गरेमा निको पार्न सकिने बताउँदै उहाँले भन्नुभयो “दुव्र्यसन रोग हो, यसको सही उपचार गरे निको हुन्छ ।”
आफू बाल्यकालदेखि नै यो लतमा फसेको भन्दै उहाँले भन्नुभयो “मैले बच्चामा यो खराब हो भन्ने थाहा पाएको भए, मेरो अवस्था यो हुने थिएन, बाल मनोविज्ञानमा सकारात्मक परिवर्तन ल्याउन कक्षा संचालन गर्नुपर्छ ।” समाजमा जुन वातावरण छ, त्यसले कुतलमा जानेहरुलाई प्रश्रय गरेको भन्दै उहाँले परिवारसँगै सरकारले ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
लागुपदार्थ छोडेको १५ वर्षको अवधिमा उहाँले परिवार चलाउन सक्ने गरी व्यवसाय चलाउनु भएको छ भने कुलतमा फसेकाहरुलाई सुधार गर्दै हिड्नु भएको छ । यो बीचमा उहाँले धेरैलाई सही बाटोमा हिडाउँदै आउनु भएको छ ।






