चितवनः नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हरेक दृष्टिले साईकल उपयुक्त भएको बताउनु भएको छ । प्रज्ञा स्मृति प्रतिष्ठान नेपाल र प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशले आज यहाँ आयोजना गरेको साइक्लिङ म्याराथन प्रतियोगिताको उद्घाटन गर्दै स्वास्थ्य, पर्यावरण हरेक दृष्टिले साईकल उपयोगी भएको बताउनुभएको हो ।

यो म्याराथनले देशैभर एउटा सन्देश प्रवाह गरेको भन्दै उहाँले भन्नुभयो “देशैभरी साईकलको विषयमा सन्देश प्रवाह भएको छ । पर्यावरणको संरक्षण गर्न साईकल उपयोगी छ ।” खेलकुद मन्त्रीको समेत उपस्थितिमा यो कार्यक्रम हुँदै गर्दा यसले आधिकारिकता र वैधानिकता स्थापित गरेको भन्दै उहाँले सहभागी सबैलाई शुभकामना व्यक्त गर्नुभयो ।

आज बिहान नारायणी किनारमा दाहालले म्याराथनको शुभारम्भ गर्नुभएको हो । प्रतियोगिता संयोजक सन्त कुमार दरैले प्रतियोगितामा पाँच विधा रहेको बताउनुभयो । इलिट मेन १९ प्लस, इलिट वमेन १९ प्लस, मास्टर मेन ३० प्लस, ग्रयाण्ड मास्टर मेन ५० प्लस र चितवन विशेष हुन् ।

प्रथम हुने १९ वर्ष माथिका महिला पुरुषलाई रु ४५ हजारका दरले, ३० वर्ष माथिको विधामा रु २५ हजार, ५० वर्ष माथिको विधामा रु २० हजार र चितवन स्पेशल विधामा महिला पुरुषलाई रु २०÷२० हजार नगद पुरस्कार रहने आयोजकले जनाएको छ।

प्रतियोगितामा १०औ स्थानसम्म आउनेलाई नगद पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ । भरतपुर महानगरमा निर्माणाधिन रिङ्गरोड सहितका सडक आयोजना साईकलमैत्री रहेको सन्देश दिन र वातावरण संरक्षणमा समेत टेवा पु¥याउने साईकलको प्रयोग बढाउन प्रतियोगिता गराउन लागिएको आयोजकको भनाइ छ ।

करिव २ घण्टाको प्रतियोगितामा लगभग ६५ कि.मि. दुरी रहेको छ । नारायणी नदी तिरबाट शुरु भई भरतपुर महानगरपालिकाको विभिन्न भित्री सडकमा दौड, ¥याली सहित पुनः नारायणी तिरमा आइ समापन हुनेछ ।

प्रतियोगितामा विजेता खेलाडीहरुलाई नगद, मेडल तथा प्रमाण पत्र वितरण गरिने छ । साथै विभिन्न व्यक्तिहरूलाई सम्मान गरिने आयोजकले जनाएको छ । प्रतियोगिताको मुख्य उद्देश्य क्यान्सर पिडितलाई सहयोग गर्ने रहेको प्रतिष्ठानले जनाएको छ ।

प्रतियोगितामा काठमाडौ सहित हेडौंटा, पोखरा, बारा, पर्सा, एपीएफबाट समेत सहभागीता रहेको छ । प्रचण्डको छोरी ज्ञानु र छोरा प्रकाश दाहालको निधन भएपछि उहाँहरुको स्मृतिमा प्रतिष्ठान बनाएको महानगर प्रमुख रेनु दाहालले बताउनुभयो ।

शोकलाई शक्तिमा बदल्दै समाजसेवामा लगाउन प्रतिष्ठान स्थापना भएको र यो पहिलो औपचारिक कार्यक्रम भएको समेत दाहालको भनाइ छ । साथै भरतपुरको रिङरोड अहिले ६६ किलोमिटर रहेपनि चांडै ८८ किलोमिटर रिङरोडमा म्याराथन हुने बताउनुभयो । खेल पर्यटन विकासका लागि म्याराथन आयोजना गरिएको उहाँको भनाई छ ।

प्रतिक्रिया दिनुहोस !