चितवनः प्रज्ञा स्मृति प्रतिष्ठान नेपालको आयोजना र प्रदेश खेलकुद बिकास परिषद बागमती प्रदेशको साझेदारीमा यही चैत २६ गते साइक्लिङ म्याराथन प्रतियोगिता हुने भएको छ । प्रतिष्ठानले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरि प्रतियोगिताको बारेमा जानकारी गराएको हो ।
प्रतियोगिता संयोजक सन्त कुमार दरैले प्रतियोगिताको सम्पुर्ण पूर्व तयारी पुरा भएको बताउनुभयो । नारायणी नदि किनारमा प्रतिष्ठानका संरक्षक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने सो प्रतियोगितामा हालसम्म ८६ जनाले नाम दर्ता गराएका छन् । ती मध्ये १२ जना महिला रहेको उहाmँे बताउनुभयो । प्रतियोगितामा सहभागिता जनाउन नाम दर्ताका लागि आज साँझ सम्म समय तोकिएको छ ।
प्रतियोगितामा पाँच विधा छन् । इलिट मेन १९ प्लस, इलिट वमेन १९ प्लस, मास्टर मेन ३० प्लस, ग्रयाण्ड मास्टर मेन ५० प्लस र चितवन विशेष हुन् । १९ वर्ष माथिका साइकल चलाउन जान्ने जो कोही सहभागी हुन पाउने आयोजकले जनाएको छ ।
प्रथम हुने १९ वर्ष माथिका महिला पुरुषलाई रु ४५ हजारका दरले, ३० वर्ष माथिको विधामा रु २५ हजार, ५० वर्ष माथिको विधामा रु २० हजार र चितवन स्पेशल विधामा महिला पुरुषलाई रु २०÷२० हजार नगद पुरस्कार रहने आयोजकले जनाएको छ।
प्रतियोगितामा १०औ स्थानसम्म आउनेलाई नगद पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ । भरतपुर महानगरमा निर्माण रिङ्गरोड सहितका सडक आयोजना साईकलमैत्री रहेको सन्देश दिन र वातावरण संरक्षणमा समेत टेवा पुर्याउने साईकलको प्रयोग बढाउन प्रतियोगिता गराउन लागिएको आयोजकको भनाइ छ ।
करिव २ घण्टाको प्रतियोगितामा लगभग ६५ कि.मि. दुरी रहेको छ । नारायणी तिरबाट शुरु भई भरतपुर महानगरपालिकाको विभिन्न भित्री सडकमा दौड, र्याली सहित पुनः नारायणी तिरमा आइ समापन हुनेछ ।
प्रतियोगितामा विजेता खेलाडीहरुलाई नगद, मेडल तथा प्रमाण पत्र वितरण गरिने छ । साथै विभिन्न व्यक्तिहरूलाई सम्मान गरिने आयोजकले जनाएको छ । प्रतियोगिताको मुख्य उद्देश्य क्यान्सर पिडितलाई सहयोग गर्ने रहेको प्रतिष्ठानले जनाएको छ । प्रतियोगिताको कुल बजेट रकम रु. ४२ लाख ७३ हजार ३३५ र विजेता खेलाडीहरुलाई नगद पुरस्कारमा मात्रै रु. ५ लाख ९५ हजार खर्च हुने दरैले बताउनुभयो ।
प्रतियोगितामा काठमाडौ सहित हेडौंटा, पोखरा, बारा, पर्सा, एपीएफबाट समेत सहभागीता रहने छ । विहान सात बजे प्रतियोगिता सुरु हुनेछ । प्रचण्डको छोरी ज्ञानु र छोरा प्रकाश दाहालको निधन भएपछि उहांहरुको स्मृतिमा प्रतिष्ठान बनाएको महानगर प्रमुख रेनु दाहालले बताउनुभयो ।
शोकलाई शक्तिमा बदल्दै समाजसेवामा लगाउन प्रतिष्ठान स्थापना भएको र यो पहिलो औपचारिक कार्यक्रम भएको समेत दाहालको भनाइ थियो । साथै भरतपुरको रिङरोड अहिले ६६ किलोमिटर रहेपनि चांडै ८८ किलोमिटर रिङरोडमा म्याराथन हुने दाबी गर्नुभयो । खेल पर्यटन बिकासका लागि म्याराथन आयोजना गरीएको उहाँको भनाई छ ।

प्रतिक्रिया दिनुहोस !