खैरहनी । आसन्न स्थानीय तहको निर्वाचनका लागि दलहरु उमेदवार छनोटमा लागेका छन् । स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० गते तोकिएको छ । जिल्लामा पाँच दलीय गठबन्धनले सातै पालिकामा तालमेल गर्ने बताए पनि गठबन्धनभित्रका दलहरुमध्ये नेपाली कांग्रेसले वडागतरुपमा उमेदवार छनोट सुरू गरेको छ । नेकपा एमालेले चैत २४ गते वडा र चैत २६ भित्र नगरपालिका प्रमुख र उपप्रमुख छनोट गर्ने जनाएको छ । जिल्लाको राप्ती नगरपालिकामा नेपाली कांग्रेसले सातवटा वडामा वडा अध्यक्ष र सदस्यहरु छनोट गरिसकेको छ भने छवटा वडामा बाँकी छ । राप्तीमा १३ वटा वडा छन् ।

नेपाली कांग्रेस राप्ती नगर समिति सभापति देवेन्द्र लामाले नगरका सातवटा वडामा सर्वसम्मतरुपमा उमेदवार छनोट भइसकेको बताए । ‘अन्य वडामा पहल भइरहेको छ, केही वडामा सर्वसम्मत चयन गरेका छौँ’, सभापति लामाले भने, ‘बाँकी वडामा २४ गतेभित्र चयनका लागि प्रयास गरिनेछ, सहमति नभए इच्छा गर्नेहरुको नाम क्षेत्रमा पठाइनेछ ।’

राप्ती–९ का वडाध्यक्षसमेत रहेका नगर सभापति लामाका अनुसार वडा नम्बर–३ मा दीपा पाठक, वडा नम्बर–५ मा विश्व रूवाली, वडा नम्बर–६ मा विक्रम चौधरी, वडा नम्बर–७ मा यमबहादुर गुरूङ, वडा नम्बर–८ मा श्रीराम कँडेल, वडा नम्बर–१० मा तेजबहादुर तामाङ र वडा नम्बर–१३ मा अशोक प्रजा वडाध्यक्षका लागि सर्वसम्मत चयन भएका छन् । ती वडाहरुमा कांग्रेसबाट सदस्यहरुको पनि टुङ्गो लागिसकेको र सर्वसम्मत नभए नगरले सिफारिस गरेका नामहरुमध्येबाट कांग्रेसको क्षेत्रीय समितिले निर्णय गर्ने उनले बताए ।

राप्तीमा बलियो पकड रहेको नेकपा एमालेले बुधबारदेखि उमेदवार छनोटको काम सुरू गर्दैछ । मंगलबार उमेदवार छनोटका बारे नगरमा प्रशिक्षण दिइएको र बुधबारदेखि उमेदवार छनोटको काम सुरू हुने नेकपा एमाले राप्ती नगर कमिटी अध्यक्ष पूर्णबहादुर थापाले बताए । २४ गतेभित्र वडा र २६ गतेभित्र नगरप्रमुख र उपप्रमुखको छनोट गर्ने तालिका छ रहेकोले राप्तीमा आफ्नो पार्टीबाट हाल बहालवाला जनप्रतिनिधिहरुलाई नै दोहो¥याउने बुझिएको उनको भनाइ छ ।

यता, खैरहनी नगरपालिकामा पनि नेकपा एमालेले मंगलबार उमेदवार छनोटसम्बन्धी प्रशिक्षण दिएकोमा बुधबारदेखि छनोटको काम सुरू हुने नगर कमिटी अध्यक्ष पूर्णबहादुर डल्लाकोटीले जानकारी दिए । खैरहनीका वडामा वर्तमान जनप्रतिनिधिलाई दोहो¥याउन सक्ने भए पनि नगरप्रमुख र उपप्रमुखका बारे एमाले मौन छ ।

नेपाली कांग्रेस खैरहनी नगर समितिले पनि नगरका केही वडामा सर्वसम्मत भएको जनाए पनि नाम भने सार्वजनिक गरेको छैन । सबै वडाको नाम एकैपटक सार्वजनिक गरिने नगर सभापति गुणराज श्रेष्ठले जानकारी दिए । ‘सबै वडामा सर्वसम्मत गराउने तयारीमा छौँ’, नगर सभापति श्रेष्ठले भने, ‘सबैको नाम टुङ्गो लगाएपछि मात्र सार्वजनिक गरिनेछ ।’

खैरहनीमा नेकपा माओवादी केन्द्र पार्टी सुदृढीकरण अभियान, घरदैलो र पार्टी कार्यालय उद्घाटनमा व्यस्त छ । केन्द्रका नगर कमिटी अध्यक्ष रामेश्वर पोखरेलका अनुसार पार्टीलाई बलियो बनाउन सुदृढीकरणको कामलाई प्राथमिकता दिएर निर्वाचनलक्षित कार्यक्रम भइरहेको छ । वडामा उमेदवार छनोटका लागि सोमबारदेखि लागू हुने गरी चार दिनको समय दिइएको नगर अध्यक्ष पोखरेलले बताए । केही वडाबाट सर्वसम्मतरुपमा उमेदवारहरुको नाम आएको भन्दै उनले तोकिएको समयमा सबै वडामा सर्वसम्मत हुने विश्वास व्यक्त गरे । नगरको प्रमुख र उपप्रमुखमा भने केही साथीहरुले इच्छा जनाए पनि त्यसबारे छलफल भइनसकेको अध्यक्ष पोखरेलले बताए ।

राप्ती नगरपालिकामा टोल–टोलमा कमिटी बनाएको नेकपा एकीकृत समाजवादीले चैत २५ गतेभित्र सबै वडाको उमेदवार छनोट गरिसक्ने जनाएको छ । राप्ती–४ का वडाध्यक्षसमेत रहेका समाजवादी नगर अध्यक्ष शमशेर लामाले मंगलबारसम्म वडा नम्बर–१२ मा हरिबहादुर तामाङलाई वडा अध्यक्षमा उमेदवार बनाउने गरी सर्वसम्मत गरे पनि अन्य वडामा बाँकी रहेको बताए । नगरप्रमुखमा भने समाजवादीबाट लामाले नै दाबी गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस !