चितवनः नेपाली काङ्ग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले स्थानीय तहको निर्वाचनमा ठाउँ र आबश्यकता अनुसार तालमेल हुने बताउनुभएको छ । आज यहाँ पत्रकारहरु संग कुराकानी गर्दै उहाँले वडा, पालिकाका बिषयमा राष्ट्रिय राजनिति भर नपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो “ठाउँ र आबश्यकता अनुसार तालमेल हुन्छ ।” तालमेलका क्रममा राष्ट्रिय आबश्यकता के हो भन्ने बिषयमा ध्यान दिएर गरिने उहाँको भनाई थियो । सबै परिस्थितिको मुल्याङ्कन गरेर पठाउन, जिल्ला, प्रदेश, क्षेत्र र पालिकालाई भनिएको भन्दै उहाँले केन्द्रको सबै निर्णय लाद्ने पक्षमा काङ्ग्रेस नरहेको बताउनुभयो । उहाँले भन्नुभयो “केन्द्रबाट सबै निर्णय लादिदैन । यस्तो नीति पनि काङ्ग्रेसको छैन ।” अहिलेको राष्ट्रिय आबश्यकता परिवर्तन माथि भएको प्रहार र प्रतिगमनको बिरुद्धमा रहेको भन्दै उहाँले यसलाई जोगाउनु पर्ने बताउनुभयो । गठवन्धन प्रतिगमनबाट जोगाउन र परिवर्तनको रक्षाका लागि भएको उहाँले बताउनुभयो । ७० बर्षको उपलव्धि रक्षाका लागि गठवन्धन गर्नु परेको उहाँको भनाई थियो ।
अहिलेको गठवन्धन कडा र नरम नभएको भन्दै उहाँले तालमेलको बिषयमा प्रारम्भिक छलफलहरु भईरहेको बताउनुभयो । अहिलेनै कस्ले कहाँ छोड्ने भन्ने बिषयमा टुङ्गो नलागेको भन्दै उहाँले छलफलबाट सबै कुराको टुङ्गो लाग्ने बताउनुभयो ।
फरक प्रसंगमा बोल्दै उहाँले काँग्रेसका कार्यकर्ताहरुलाई निराशा हुनु पर्ने अबस्था नरहेको बताउनुभयो । उहाँले भन्नुभयो “निरास हुनुपर्ने अबस्था छैन । रुखलाई छोड्ने कुरा छैन ।” उहाँले थप्नुभयो “चितवनका साथीहरु समझदार हुनुहुन्छ ।”






