चितवनः जिल्लामा बर्डफ्लू बढेपछि पशु सेवा विभागका महानिर्देशक डा.रामनन्दन तिवारी सहितको विज्ञ टोली यहाँ आएको छ । बर्डफ्लू नियन्त्रण समितिको आज यहाँ सम्पन्न बैठकमा तिवारीले देशभरको बर्डफ्लूको अवस्थाका बारेमा जानकारी दिंदै चितवन थप संवेदनशील बनेको बताउनुभयो ।
हालसम्म देशभरका १३ जिल्लामा बर्डफ्लू देखिएको उहाँले जानकारी दिनुभयो । मोरङ, सुनसरी, उदयपुर, बारा, पर्सा, धनुषा, काठमाण्डौं, भक्तपुर, ललितपुर, सिन्धुपाल्चोक, चितवन, मकवानपुर र कास्कीमा बर्डफ्लू देखिएको हो । ती जिल्लामा ८८ हजार ८०० पंक्षी मारिएको, ५१ हजार ७६३ अण्डा नष्ट गरिएको, ३० क्वीन्टल २१ किलो दाना र २० किलो मासु नष्ट गरिएको उहाँको भनाई छ ।
सरकारले दिने राहात रकमको सरदर हिसाब गर्दा आजसम्म रु.८ करोडभन्दा बढी भएको भन्दै उहाँले विभागसँग रु. १ करोड २१ लाख मात्रै बजेट रहेको बताउनुभयो । यद्यपी प्रदेश र संघका निकायहरुले राहात रकम उपलब्ध गराउने विश्वास दिलाउँदै यथासक्य छिटो पंक्षी नष्ट गर्न निर्देशन दिनुभयो । यसका लागि व्यवसायी, प्रशासन र सरोकारवालाहरुको सहयोगको आवश्यक भएको उहाँको भनाई थियो ।
बैठकमा पोष्ट्रि महासंघका उपाध्यक्ष टिकाराम पोखरेलले कुखुरा बिक्री गर्नुभन्दा पहिला परीक्षका लागि आवश्यक किट उपलब्ध गराउन अनुरोध गर्नुभयो । रोग फैलिंदै जाँदा समेत सरकारी तवरबाट काममा ढिलासुस्ती भएको भन्दै उहाँले तिब्र रुपमा पंक्षी नष्ट गर्न र परीक्षण गर्न अनुरोध गर्नुभयो ।
बैठकले बर्डफ्लू नियन्त्रण गर्न आवश्यक जनशक्ति तथा स्रोत साधन परिचालन गरी रोग अन्यत्र फैलिन नदिन सो क्षेत्रको ७ किलोमिटर भित्र रोगको सर्भिलेन्स र निगरानी कार्य जारी राख्ने निर्णय गरेको छ । बर्डफ्लू नियन्त्रण नियमावली २०७८ को नियम ११ अनुसार नष्ट गरिएको पंक्षी तथा पंक्षीजन्य पदार्थ उत्पादन सामग्रीको हानिनोक्सानी भएको व्यक्तिलाई राहात दिन पशु सेवा विभाग र कृषि तथा पशुपंक्षी विकास मन्त्रालयलाई अनुरोध गर्ने निर्णय गरेको न्यौपानेले जानकारी दिनुभयो । जिल्लामा बर्डफ्लू बढेकाले नियन्त्रणका लागि थप जनशक्ति र साधन स्रोतका लागि पशु सेवा विभाग र प्रदेश निर्देशनालयमा अनुरोध गर्ने निर्णय समेत बैठकले गरेको छ ।
चितवन जिल्लालाई बर्डफ्लू प्रभावित क्षेत्र वा प्राविधिक (ईडिट) समितिले तोकेको निगरानी क्षेत्रबाट पंक्षी तथा पंक्षीजन्य पदार्थ वा उत्पादन सामग्री र रोग सार्न सक्ने अन्य वस्तुको ओसारपसारमा पशु स्वास्थ्य तथा पशु सेवा ऐन २०५५ को दफा १५ बमोजिम प्रतिबन्ध लगाउने निर्णय गरेको छ । बजारमा शंकास्पद रोगी पंक्षीको प्रवेशमा रोक लगाउने प्रयोजनका लागि रोगको प्रारम्भिक एकिन गर्न रेपिड रेष्ट किट परीक्षण गर्ने निर्णय बैठकले गरेको छ ।
नेपालमा बि.सं. २०६५ सालमा पहिलो पटक बर्डफ्लू देखापरेको हो । बि.सं. २०७० सालमा यो रोग भयावह भएको थियो । तत्कालिन समयमा भक्तपुर जिल्लाका सबै पंक्षी मारिएका थिए । यस वर्ष माघ १४ गते पहिलो पटक मोरङमा रोग देखिएको हो । चितवनमा माघ २८ गते पहिलो पटक रोग पुष्टि भएको थियो । सरकारले बर्डफ्लू देखिएका ठाउँमा नष्ट गरिएका पंक्षी र सामग्रीको राहात दिने गर्दछ ।
प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बस्ने मूल्य निर्धारण समितिको बैठकले तोकेको दररेटको ७५ प्रतिशत राहात रकम दिने मापदण्ड अन्तिम चरणमा पुगेको छ ।






