
चितवनः हरेक वर्ष चैते दशैको समयमा मनाईने बिक्रमबाबा मेला आज देखि सुरु भएको छ । कोरोना कहरका कारण बिगत दुई वर्ष देखि हुन नसकेको बिक्रमबाबा मेला आज देखि सुरु भएको हो ।
निकुञ्ज प्रशासन, निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेना र पूजा व्यवस्थापन समितिले बिक्रमबाबाको मन्दिरमा पूजाआजा गरि परेवा उडाएर औपचारीक रुपमा मेलाको सुरुवात गरिएको छ । केरुङ्गा उपभोक्ता समितिका अध्यक्ष अर्जुन भूजेलका अनुसार दुई वर्ष सम्म रोकीएको मेला सुरु भए संगै भक्तजनहरुको चाप वढेको छ ।
बैशाख ३ गते सम्म लाग्ने बिक्रमबाबा मेलामा केरुङ्गा उपभोक्ता समिति र पटिहानी उपभोक्ता समितिले पूजाको व्यवस्थापन गर्ने छन् भने घैलाघारी सामुदायीक वनले पार्कीङ्को व्यवस्थापन गर्ने छ । पटिहानी उपभोक्ता समितिका उपाध्यक्ष कृष्णहरी शर्माले बिक्रमबाबा मेलामा आउने भक्तजनहरुको चापलाई मध्यनजर गर्दै व्यवस्थापनको काम गरिएको बताउनुभयो । दुई बर्ष देखि हुन नसकेको मेला अहिले हुन लाग्दा भक्तजनको चाप बढ्ने अनुमान गरिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “यस वर्ष मेला भर्न वा पूजा गर्न आउने भक्तजनको संख्या ५ लाख हुने अनुमान गरेका छौ ।”
पूजा व्यवस्थापनका लागि १० सदस्यीय समिति बनाईएको उहाँले जानकारी दिनुभयो । मन्दिरमा पूजा गर्नका लागि बिहान ६ बजे देखि साँझ ५ बजे सम्म समय तोकिएको छ । साँझ ५ वजे पछि जंगली जनावारको चहलपहल हुने भएकाले सो समय निर्धाारण गरिएको उहाँको भनाई छ ।
मेला सञ्चालन गर्न आउने व्यवसायीहरुलाई साँझ ६ बजे पछि व्यवसाय वन्द गर्न लगाईने घैलाघारी सामुदायीक वनका अध्यक्ष लिलाराज भुषालले बताउनुभयो । मेला व्यवस्थापनका लागि १ सय १ सदस्यीय मुल व्यवस्थापन समिति गठन गरिएको उहाँले जानकारी दिनुभयो । आठ वटा उप समिति निर्माण गरि मेला व्यवस्थापनको काम गरिएको छ । उहाँले भन्नुभयो “सामुदायीक वन क्षेत्र भित्र दिउँसोमा पार्कीङ् र मेलाको व्यवस्थापन गरिए पनि साँझ ६ वजे पछि मेला वन्द गर्ने गरि निर्णय गरेका छौ ।” भरतपुरतर्फबाट गएका र माडीतर्फबाट आउने सवारीहरुलाई निकुञ्ज बाहिर पार्किङ गर्ने व्यवस्था मिलाइएको छ ।
राप्ती पुलबाट करिब २ किलोमिटर निकुञ्जभित्र बिक्रमबाबाको दर्शन तथा पूजापाठ गर्ने गरिन्छ । यो पुजा बिशेष गरी थारु जातिमा प्रचलनमा रहेको छ । बिक्रमबाबाको पुजा परापूर्व कालदेखि थारु जातिले गर्ने भए पनि पछिल्लो समय सबै समुदायले पूजा गर्ने गर्छन् । सन्तान प्राप्ति र सुख लगायत मनोकांङ्क्षा पूरा हुने विश्वासका साथ बिक्रमबाबाको पूजा गर्ने गरीएको पाईन्छ ।