चितवनः कोभिडका कारण सुस्ताएको पर्यटन क्षेत्रमा सुधारका संकेत देखिएका छन् । चितवन राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकको संख्या सन्तोषजनक रुपमा बृद्धि भएको हो । कोभिडपछि लगातार सुस्ताएको पर्यटन क्षेत्रमा चहलपहल बढेको छ ।
गत आर्थिक वर्षभरि नै आएका पर्यटकको संख्याभन्दा चालु आर्थिक वर्षको आठ महिनामा आएको पर्यटकको संख्या बढेको हो । चालु आर्थिक वर्षको आठ महिनामा चितवन राष्ट्रि निकुञ्जमा १ लाख ८ हजार २५४ पर्यटकले भ्रमण गरेका छन् । निकुञ्जमा आर्थिक वर्ष २०७७÷७८ मा घुम्न आउने पर्यटकको संख्या ९२ हजार २०९ मात्रै थियो । त्यस्तै आव २०७६÷७७ मा एक लाख ८२ हजार ४३५ व्यक्तिले निकुञ्ज भ्रमण गरेका थिए ।
निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार आलु आवको पहिलो आठ महिनामा विदेशी ५ हजार ३९४ जना रहेका थिए । ती मध्ये २ हजार ५४० जना महिला र २ हजार ८५४ जना पुरुष रहेका छन् । यसैगरी सार्क मुलुकका ४ हजार ८६५ जना रहेका छन् । ती मध्ये २ हजार २६२ जना महिला र २ हजार ७०३ जना पुरुष रहेका छन् ।
आन्तरिक पर्यटकको संख्या भने उल्लेख्य मात्रामा रहेको छ । चालु आर्थिक वर्षको आठ महिनामा ९७ हजार ८९५ आन्तरिक पर्यटकले निकुञ्ज भ्रमण गरेका छन् । यसमध्ये ४९ हजार ७ जना महिला र ४८ हजार ८८८ जना पुरुष रहेका छन् ।
तिवारीका अनुसार गत आर्थिक वर्षमा निकुञ्ज घुम्न आउने पर्यटकमध्ये ८९ हजार ६६७ आन्तरिक पर्यटक रहेका थिए । पछिल्लो आठ महिनामा निकुञ्ज प्रवेश गरेका १ लाख ८ हजार २५४ पर्यटक मध्ये ५३ हजार ८०९ जना महिला र ५४ हजार ४४५ जना पुरुष रहेका छन् ।
गत आवमा एक हजार ३६४ व्यक्ति सार्क मुलुकका पर्यटक र एक हजार २४४ विदेशी पर्यटकले निकुञ्ज भ्रमण गरेको तिवारीले जानकारी दिनुभयो । गत आवमा कोरोना संक्रमणको त्रासका कारण लामो समयसम्म अन्तर्राष्ट्रिय हवाई उडान प्रभावित हुँदा सार्क र विदेशी मुलुकबाट आउने पर्यटक नेपाल आउन नसक्दा निकुञ्जमा बाह्य पर्यटकको संख्यामा कमी आएको हो ।
गत आव २०७७÷७८ मा भने निकुञ्ज घुम्न आउने आन्तरिक पर्यटकमध्ये ३७ हजार ९६८ महिला तथा ५१ हजार ६३३ पुरुष छन् । त्यस्तै सार्कबाट ५४९ महिला र ८१५ पुरुष तथा विदेशी मलुकबाट ५६२ महिला र ६८२ पुरुषले निकुञ्जको भ्रमण गरेका छन् ।
पर्यटकहरुले निकुञ्जमा हात्ती, जीप, डुंगा, पैदल सफारी गर्ने गर्दन् । दुर्लभ एकसिंगे गैंडा, पाटेबाघ लगायतका जनावर, चराचुरुङ्गी, वनस्पति, घडियाल गोही, माछा लगायतका अवलोकन गर्न यहाँ स्वदेशी तथा विदेशी पर्यटकहरु आउने गर्दछन् ।






