काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेसँग एक्लै लड्न कुनै पनि पार्टीले सोच्दै सोच्न नहुने बताएका छन् । भक्तपुरको सूर्यविनायकमा कृषि तथा तरकारी बजारको उद्घाटन गर्दै ओलीले सो कुरा बताएका हुन् ।

‘अहिले नेकपा एमालेको अवस्था के हो भन्ने कुरा २२ हजार साथीहरु आज यहाँ मात्रै प्रवेश गर्दै हुुनुहुन्छ । यसले देखाउँछ एमाले कुन ठाउँमा छ भन्ने । गठबन्धन परित्याग गरेर, सरकारमा रहेका पार्टी परित्याग गरेर एमालेमा प्रवेश गर्दै हुनुुहुन्छ,’ उनले भने, ‘एमालेसँग एक्लै लड्न आउने कुनै पनि पार्टीले नचिताए हुन्छ । एक्लै एमालेसँग लड्छु भन्ने कुरा सोच्दै नसोचे हुन्छ ।’

गठबन्धन नगरि एमालेसँग जुध्न सकिँदैन भन्ने सत्ता गठबन्धनलाई थाहा भएको तर गठबन्धन गरेपनि एमालेसँग लड्न सकिँदैनँ भन्ने बुझ्न बाँकी भएको उनले बताए । उनले भने, ‘गठबन्धन नगरि एमालेसँग जुध्न सकिँदैन भन्ने थाहा छ । तर, गठबन्धन गरेपनि एमालेसँग लड्न सकिँदैन भन्ने बुझ्न बाँकी छ । त्यो कुरा हामी बुझाउछौँ ।’

उनले सत्ता गठबन्धनलाई लोभी–पापीको पार्टी भएको टिप्पणी गरे । उने गठबन्धन गर्न भनेजस्तो सजिलो नभएको पनि बताए । उनले भने, ‘गठबन्धन गर्छौँ भनेका छन् तर गठबन्धन सजिलो छैन, लोभी पापीहरुको गठबन्धन कति गाह्रो होला ।’

प्रतिक्रिया दिनुहोस !