चितवनः राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजनैतीक दलको बिकल्प राजसंस्था नभएको बताउनुभएको छ । आज यहाँ पत्रकारहरुसंग कुराकानी गर्दै उहाँले राजनैतीक दलको बिकल्प राजनैतिक दलनै भएको बताउनुभएको हो ।
उहाँले भन्नुभयो “दलको बिकल्पमा राजसंस्थालाई लिन सकिदैंन ।” जनताले कहिले कुन पार्टीलाई ठूलो त कहिले कुनलाई ठूलो दल वनाउने गरेको भन्दै उहाँले राप्रपा नेपाल सक्रिय राजतन्त्रको पक्षमा नरहेको बताउनुभयो । उहाँले भन्नुभयो “हामी सक्रिय राजतन्त्रको पक्षमा छैनौ ।” हिन्दु राज्यको पक्षमा रहेको बताउँदै उहाँले निर्मल निवासले चाहे जस्तो सहज अबको समयमा नरहेको बताउनुभयो ।
थापाले बिगतमा आफुले राजसंस्थाका लागि गरेका कामहरुप्रति कुनै पश्चताप नभएको बताउनुभयो । उहाँले भन्नुभयो “अझै पनि राजसंस्थाप्रति आफ्नो उच्च सम्मान रहेको छ ।” नेपाल एकीकरण प्रजातन्त्र स्थापना देश सुदृढीकरणमा राजसंस्थाको उच्च योगदान रहेको उहाँको भनाई थियो ।
आगामी बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा एमालेसँग सहकार्य हुन सक्ने सम्भावना रहेको उहाँले बताउनुभयो । राष्ट्रियता सँगको सवालमा एमालेसँग निकट भएको भन्दै उहाँले “सम्भव भएसम्म एमालेसँग सहकार्य गरेर जाने प्रयास हुनेछ ।” स्थानीय तहको चुनावबाट राप्रपा नेपालले खुट्टा टेक्ने अवस्थामा पार्टीलाई बलियो पार्ने उहाँले दाबी गर्नुभयो ।
राजनीतिक दलहरुबीचमा गठबन्धन, सहकार्य संविधानलेनै अपेक्षा गरेकाले चुनावी तालमेल हुनु स्वभाविक रहेको बताउनुभयो । चुनावमा जित्नका लागि तालमेल हुनु स्वभाविकनै हो उहाँले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस !