चितवनः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दलहरुबीच सहमति र सहकार्य हुनु पर्ने बताउनु भएको छ । भरतपुर महानगरपालिकाको प्रशासनिक भवन शिलन्यास समारोहमा बोल्दै उहाँले दलहरु एक्लाएक्लै अघि बढेको भए अहिलेको अवस्थामा आउन नसक्ने बताउनु भएको हो ।
दलहरुको सहकार्यबाटै संविधान बनेको भन्दै उहाँले भन्नुभयो “सबै दल आ–आफ्नै ढङ्गले गएको भए के देशमा शान्ति आउँथ्यो ? के संविधान सभा हुन्थ्यो ? के संविधान जारी हुन्थ्यो ?” गिरिजाप्रसाद कोईरालाले आफ्नो जीवनको अन्तिम समयसम्म सहमती सहकार्यलाई मन्त्रको रुपमा भन्ने गरेको भन्दै उहाँले यो कुरालाई बिर्षन नहुने बताउनुभयो ।
गिरिजाप्रसाद कोईरालाले सहमति सहकार्य र एकताबाट मै यो देशको भलो भन्ने गर्नुभएको स्मरण गराउँदै उहाँले अगाडि थप्नुभयो “ अभिभावकको भूमिकामा रहनु भएका गिरिजाप्रसाद कोईरालाले नबुझेर भन्नु भएको होइन ।” गठबन्धनका सन्दर्भमा बोल्दै उहाँले अहिले केही साथीहरु मिलेर जाने होईन आफ्नै आफ्नै ढङ्गले जानु पर्छ भन्ने गरेको बताउनुभयो । उहाँले भन्नुभयो “ठिकै छ आफ्नै तपरकाले जाने हो भने पनि हामीलाई आपत्ति छैन । आफ्नै आफ्नै तरिकाले पनि जान सकिन्छ ।”
उहाँले आफु अहिले मुलुककै अध्यक्ष भएको महशुस गरिरहेको बताउनुभयो । देशमा पर्ने हरेका समस्या समाधान गर्न आफु अग्रसर भएको भन्दै उहाँले आफ्नो टाउकोमा राष्ट्रको अध्यक्षको जिम्मेवारी छ जस्तो महशुश हुन थालेको उहाँको भनाई थियो । उहाँले भन्नुभयो “मलाई माओवादी केन्द्रको अध्यक्ष जस्तो लाग्दैन आज भोली म सिंगै राष्ट्रको अध्यक्षको जिम्मेवारी मेरो टाउकोमा हो जस्तो लाग्छ ।”
देशमा अफ्ठ्यारो प¥यो भने जसरी तसरी बचाउनै पर्ने नबचाई नहुने भारी बोकेर आफू हिडेको हुँ कि जस्तो लाग्ने गरेको दाहालको भनाई छ ।
कार्यक्रममा भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहाल, उपप्रमुख पार्वती शाह ठकुरी र प्रमुख कार्यकारी अधिकृत रामवन्धु सुवेदीले भवन र महानगरले गरेका विकास निर्माणका बारेमा प्रकाश पार्नुभएको थियो ।
सो अवसरमा बागमती प्रदेश सभा सदस्य विजय सुवेदी, नेकपा (एमाले) चितवनका अध्यक्ष रामप्रसाद न्यौपाने, नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनाल, नेकपा (माओवादी केन्द्र) चितवनका संयोजक रामचन्द्र अधिकारी, नेकपा (एकीकृत समाजवादी) चितवनका उपाध्यक्ष कृष्ण न्यौपाने, जसपाका संघीय परिषद् सदस्य मुस्तफा अलि, उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष चुननाराण श्रेष्ठ, चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेल लगायतले बोल्नु भएको थियो ।
महानगरले रु.९४ करोड ३२ लाख ३० हजार २७१ अनुमानित लागतमा भवन निर्माणका लागि बोलपत्र आव्हान गरेको छ । महानगर प्रमुख दाहालले संघीय सरकारबाट रु.३५ करोड र बागमती प्रदेश सरकारबाट ठेक्का कबोल मूल्यको ५० प्रतिशत रकम सुनिश्चितता भईसकेको जानकारी दिनुभयो । महानगरपालिकाको अत्याधुनिक आकर्षक प्रशासनिक भवन बन्न लागेको होे । भूमिगत (अण्डरग्राउण्ड) पार्किङ सहितको भवन हुनेछ । भूमिगत बाहेक ६ तले सो भवन १४ हजार १५२ वर्गमिटरको हुनेछ ।






