चितवनः नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तीनै तहको निर्बाचन सम्म गठवन्धन जारी रहने बताउनुभएको छ । माडी नगरपालिका वडा नम्बर ९ राइडाँडामा कुशुमखोला नमुना चेपाङ् बस्तिको आज उद्घाटन गर्दै उहाँले आन्तरिक शक्ति बलियो बनाउन लाग्नु पर्नेमा जोड दिनुभयो ।
स्थानीय, प्रदेश र संघिय निर्वाचनमा अहिलेको सत्ता गठवन्धन संगै अघि वढ्ने भन्दै उहाँले गठवन्धन हुँदै गर्दा पनि आन्तरिक शक्ति बलियो हुनु पर्ने बताउनुभयो । आउँदो निर्वाचनमा पार्टीलाई बलियो साबित गर्न गाउँतहमा संगठन बलियो बनाउनु पर्नेमा उहाँको जोड थियो । गएको निर्वाचनमा आँफुले गरेको बाचा पुरा हुने चरणमा गएको भन्दै उहाँले बाँकी रहेका केही योजनाहरु १ वर्ष भित्रमा सम्पन्न हुने बताउनुभयो । माडी उहाँको निर्वाचन क्षेत्र हो । पूर्बाधारका धेरै काम सम्पन्न भएको उहाँको भनाई थियो । प्रचुर सम्भावना बोकेको माडीको बिकासमा आँफु लागि परेको दाहालले बताउनुभयो ।
सो स्थानमा ८६ घर रहेका छन् । संसद बिकास कोष, माडी नगरपालिका र दाताहरुको सहयोगमा ती घर निर्माण गरिएका हुन । यस अघि उहाँले रु ५ करोड ३७ लाखमा सम्पन्न माडी नगरपालिका वडा नम्बर २ को पाँच किलोमिटर लामो चिरौली सडक उद्घाटन गर्नु भएको थियो । गतवर्ष उहाँले सो सडकको शिलन्यास गर्नु भएको थियो ।
संघिय सरकार र माडी नगरपालिकाको वजेटबाट सडक निर्माण गरिएको हो । दाहालले आजै माडी नगरपालिका वडा नम्बर ७ र ८ जोड्ने हुलाकी सडकमा निर्माण गरिएको परुई खोलाको पुलको उद्घाटन गर्नु भएको थियो । दाहालको निर्वाचन क्षेत्र हेर्दै आउनु भएकी निशा न्यौपानेका अनुसार सो सडकमा निर्माणाधिन १३ वटा पुल मध्ये गतसाल एउटा सम्पन्न भएको थियो । बाँकी ११ पुल निर्माणाधिन अबस्थामा रहेका छन् ।
माडीका अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गरेर दाहाल दिउँसो भरतपुर फर्कने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस !