चितवनः जिल्लामा २ सय ८९ जना नयाँ क्षयरोगी थपिएका छन् । जिल्लाका सात पालिकामा पौष मसान्त सम्ममा सो संख्यामा बिरामी थपिएका हुन । हरेक चार÷चार महिनामा तथ्याङ्क अध्याबधिक गर्ने गरिन्छ ।
कार्यालयकी जनस्वास्थ्य अधिकृत गिताञ्जली ढकालका अनुसार जिल्लामा सबै भन्दा बढि भरतपुर महानगरपालिकामा बिरामी रहेका छन् । भरतपुर महानगरमा १ सय ५३ जनामा क्षयरोग देखिएको हो । यस्तै खैरहनी नगरपालिकामा ३३ जना, माडी नगरपालिकामा २९ जना, रत्ननगर नगरपालिकामा ३२ जना, राप्ती नगरपालिकामा १८ जना, कालिका नगरपालिकामा १९ जना र इच्छाकामना गाउँपालिकामा ५ जनामा क्षयरोग देखिएको हो ।
ढकालले गत आर्थिक वर्षमा जिल्लामा ८ सय ९४ जनामा क्षयरोग देखिएको जानकारी दिनुभयो । अहिले उपचारमा रहेका ५ सय ३५ जना छन् । गत आर्थिक वर्ष र चालु आर्थिक वर्षमा क्षयरोग पुष्टि भएका उनीहरु अहिले उपचारमा रहेका हुन ।
नेपालमा हाल ६८ हजार जना नयाँ क्षयरोगका बिरामी भेटिएको तथ्याङ्कले देखाएको छ । जस मध्ये ५ हजार २ सय जना १४ वर्ष मुनिका बालबालिका रहेका छन् भने ६३ हजार नयाँ बिरामी १४ बर्ष माथिका रहेको ढकालले बताउनुभयो । नेपालमा भेटिएका मध्ये २ हजार २ सय बहु–औषधि प्रतिरोधि बिरामी रहेका छन् । संक्रमित मध्ये ३३ प्रतिशत महिला रहेका छन् भने ६३ प्रतिशत पुरुष रहेका छन् । नेपालमा हरेक वर्ष १७ हजार क्षयरोगका बिरामीको मृत्यु हुने गरेको तथ्याङ्क रहेको छ ।
ढकालका अनुसार नेपालमा प्रत्यक दिन १ सय ८९ जना नयाँ बिरामी भेटिने गरेका छन् । जस मध्ये १ सय १ जना बिरामी उपचारका लागि नआउने गरेका छन् । प्रत्येक दिन क्षयरोगका कारण ४७ जना बिरामीको मृत्यु हुने गरेको छ । उच्च मृत्युदर भएका १० वटा रोग मध्ये क्षयरोग पनि एक हो ।
यो रोग माइक्रोव्याक्टेरीयम टियूबरक्लोसिस नामक किटाणुका कारण सर्ने गर्छन । यो रोग हावाबाट सर्ने रोग भएकाले फोक्सोमा असर पर्ने गर्दछ । यस रोगका लक्षणहरुमा साँझपख हल्का ज्वरो र पसिना आउनु, छाती दुख्नु र सास फेर्न गाह्रो हुनु, दुई हप्ता वा सो भन्दा बढी समय सम्म लगातार खोकी लाग्नु, तौल घट्नु, खान खान मननलाग्नु, खकारमा रगत देखिनु रहेका छन् । यस्तो समस्या देखिएमा खकार जाँच गर्नुपर्ने उहाँले बताउनुभयो । परिक्षण गर्दा क्षयरोग देखिएमा नियमित औषधि सेवनले यो रोगलाई निको पार्न सकिने उहाँको भनाई छ ।
आज बिश्वभर क्षयरोगको अन्त्यका लागि लगानी बढाऔंः जीबन बचाऔं भन्ने नाराका साथ बिश्व क्षयरोग दिबस मनाइदैं छ ।






