चितवनः १५ बर्ष कैद र रु १ लाख जरिवाना तोकी बिगत १६ वर्ष देखि फरार रहेका अभियुक्तलाई पक्राउ गरिएको छ । चितवन राष्ट्रिय निकुञ्जका अनुसार तनहुँ देवघाट गाउँपालिकाका बिष्णु बहादुर गुरुङलाई पक्राउ गरिएको हो ।
निकुञ्जका सूचना अधिकारी गणेश प्रसाद तिवारीका अनुसार गुरुङ्लाई बि. सं. २०६२ साल कात्र्तिक ९ गते दायर भएको बाघको छाला खरिद बिक्रि गरेको मुद्धामा निकुञ्जले फरार सूचिमा राखेको थियो । गोप्य सूचनाका आधारमा उनलाई यही चैत ३ गते भरतपुर महानगरपालिका वडा नम्बर १ लिलाचोकबाट पक्राउ गरिएको हो । पक्राउ परेका उनलाई कारागार कार्यालय चितवनमा बुझाईएको तिवारीले जानकारी दिनुभयो । गुरुङ्लाई फैसलाका क्रममा १५ बर्ष कैद र रु १ लाख जरिवाना तोकिएको थियो ।
निकुञ्जले आज जारी गरेको सूचनामा सोही मुद्धामा बि. सं. २०६२ साल असोज १४ गते साबिक बछौली गाउ बिकास समिति वडा नम्बर ४ को सौराहा मार्गमा गोरखा जिल्ला सिर्दिबास गाबिस वडा नम्बर ३ बस्ने सुरेन्द्र गुरुङ र सिम्जुङ गाबिस बस्ने बिर बहादुर गुरुङ् समेतले बन्यजन्तुको अखेटोपहार किनबेच कार्यको लागि हिडेको अबस्थामा पक्राउ गरिएको थियो । उनीहरु एक थान बाघको छाला र रु ४१ हजार नगद सहित पक्राउ परेका थिए । सोही मुद्धामा फरार रहेका गुरुङलाई पक्राउ गरिएको हो । त्यसै मुद्धाका अझै एक जना आरोपी फरार रहेका छन् ।

प्रतिक्रिया दिनुहोस !