चितवनः सातौं राष्ट्रिय कृषि गणना अन्तर्गत जिल्लामा १ सय ७९ क्षेत्रमा कृषि गणना गरिने भएको छ । जिल्लामा रहेका सात पालिकालाई सो क्षेत्रमा बिभाजन गरी गणना गर्न लागिएको हो ।
जिल्ला कृषिगणना कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिकामा ३७, रत्ननगर नगरपालिकामा २५, खैरहनी नगरपालिकामा २८, राप्ती नगरपालिकामा २५ गणना क्षेत्र रहेका छन् । कालिका नगरपालिकामा २२, माडी नगरपालिकामा २८ र ईच्छाकामना गाउँपालिकामा १४ वटा गणना क्षेत्र रहेका छन् । कार्यालयका प्रमुख यज्ञमूर्ती भण्डारीका अनुसार हरेक १०÷१० वर्षमा गरिने कृषि गणना सम्पन्न गर्नका लागि जिल्लामा ८० जना कर्मचारी परिचालन गरिने छ । १६ जना सुपरिवेक्षक र ६४ जना गणक परिचालन गरिने उहाँले जानकारी दिनुभयो ।
उनीहरुले ४५ दिन काम गर्ने छन् । गणकहरुलाई चैत २४ गते सम्म करारमा नियुक्त गरेर काम लगाइने छ । गणक र सुपरिवेक्षकलाई चैत २५ गते देखि बैशाख ३ गते सम्म तालिम दिईने छ । तालिम पछि बैशाख ६ गते बाट जेष्ठ १९ गते सम्म तथ्याङ्क संकलनमा खटाईने भण्डारीले जानकारी दिनुभयो । गणकले एक गणना क्षेत्रमा २५ परिवारको तथ्याङ्क संकलन गर्ने छन् । उनीहरुले बिभिन्न १३ बिधामा प्रश्नावली भर्ने छन् । यस्तै वडा स्तरीय सामुदायीक प्रश्नावली समेत समेटिएका बिषयहरु रहने छन् ।
नेपालको पछिल्लो जनगणनाको प्रारम्भिक तथ्याङ्क अनुसार ४१ लाख घरपरिवार कृषक परिवार रहेको पाईन्छ ।
गणनाका क्रममा कृषकले भोगचलन गरेको जग्गाको आकार, जग्गाको उपभोग र उपयोग बाली लागेको जग्गाको क्षेत्रफल, मूख्य बालीहरुको उत्पादन र सिचाईको बिबरण लिईने छ । यस्तै कृषि सामाग्री र औजारको उपयोग, पशुपंन्छीको संख्या, आहार सम्बन्धी बिबरण, कृषि कार्यमा संलग्न जनशक्ति, लिङ्गको आधारमा कृषि जग्गाको स्वामित्वको अबस्था बारे गणकले तथ्याङ्क संकलन गर्ने छन् । कृषि वन, कृषि ऋण, बीमा अनुदान, कृषि कार्यमा जलवायु परिवर्तनका प्रभाब, हरितगृह पद्धतिको प्रयोग माटो परीक्षण कृषि वजार सम्मको पहुँच, कृषि अवशेष र फोहोरको व्यवस्थापन जस्ता बिषयमा तथ्याङ्क संकलन गरिने उहाँले बताउनुभयो ।
जिल्लामा कृषि गणना कार्यालय चैत १ गते स्थापना गरि काम सुरु गरिएको उहाँले बताउनुभयो । कृषि गणनबाट प्राप्त तथ्याङ्कको प्रयोगले सरकारले परिकल्पना गरेको कृषि क्षेत्रको बिकास एबं सम्बृद्धिको लागि मद्दत पुग्ने जनाईएको छ ।






