चितवनः कृतिमानी हिमाल आरोही निर्मल पूर्जालाई सम्मान गरिने भएको छ । चैत १० गते बिहिबार उहाँलाई चितवनमा सम्मान गर्न लागिएको हो ।
निर्मल पूर्जा स्वागत अभिनन्दन तथा सम्मान कार्यक्रम आयोजक समिति भरतपुर चितवनले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरि पूर्जालाई सम्मान गर्न लागिएको जनाएको हो । उहाँ गृह जिल्ला आएको समयमा स्वागत तथा सम्मान गर्न लागिएको समितिका अध्यक्ष हरि कुमार गुरुङ्ले बताउनुभयो । उहाँका अनुसार पुर्जाको सम्मानका लागि चैत १० गते दिउँसो १ः३० वजे भरतपुर बिमानस्थलमा स्वागत, २ बजे देखि लायन्सचोकबाट पुलचोक, पोखरा बसपार्क, रामनगर हुँदै नरायणी तिर सम्म अभिनन्दन यात्रा, ३ वजे देखि सांस्कृतिक कार्यक्रम, ४ वजे नारायणी नदी किनारमा सम्मान र साँझ ६ बजे बृत्तचित्र प्रदर्शन गरिने छ ।
विश्वका ८ हजार मिटरभन्दा अग्ला १४ वटा हिमालको आरोहण गर्नुभएका पूर्जाले ती हिमाल आरोहणका लागि ६ महिना ६ दिन लगाउनु भएको थियो । नेपालका ८ वटा, ५ वटा पाकिस्तानको र एउटा चीनको हिमाल आरोहण गर्नुभएका पूर्जा भरतपुर महानगरपालिका वडा नम्बर १ रामनगर निबासी हुनुहुन्छ । सन् १९८३ मा म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर ३ मा जन्मनु भएका पूर्जा ६ वर्षको उमेर देखि रामनगरमा बस्दै आउनु भएको हो ।

सन् २०१२ डिसेम्बरबाट निर्मल पुर्जाले हिमाल चढ्न सुरू गर्नु भएको हो । उहाँले आठ हजार मिटरमाथिका १४ वटा हिमाल आरोहण गरेको कीर्तिमान छ । यो कीर्तिमानी उहाँले दुई वर्षअघि नै बनाउनु भएको हो ।

पत्रकार सम्मेलनमा दिईएको जानकारी अनुसार यसअघि त्यस्तो कीर्तिमान कायम गर्ने दक्षिण कोरियाका किम चाङ्–हो हुनुहुन्थ्यो । उहाँले १४ हिमालको आरोहण सक्न सात वर्ष १० महिना छ दिन लगाउनुभएको थियो । सन् १९८७ मा कायम गरेको कीर्तिमान उहाँले ३० वर्षपछि छोटो समयमा सम्पन्न गरेर भङ्ग गर्नुभएको हो ।

बेलायतको इष्टली बरो काउन्सिलले हिमाल आरोहणमा विश्व कीर्तिमानी कायम गर्ने पूर्वगोर्खा आरोही निर्मल पूर्जालाई सम्मान गरेको थियो । पूर्जालाई काउन्सिलले ‘फ्रिडम अफ दी बरो’ उपाधिसहित सम्मान गरिएको हो । निर्मल नेपाल पर्वतारोहण संघको सद्भावना दूतसमेत रहनु भएको छ ।

उहाँ कीर्तिमानी हिमाल आरोही तथा बेलायती भूतपूर्व गोर्खा सैनिक हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस !