चितवनः भरतपुर महानगरपालिकाले भाषा, साहित्य, कला, संस्कृतिको उत्थान र श्रीवृद्धिको लागि प्रज्ञा प्रतिष्ठान गठन गरेको छ । महानगर क्षेत्रमा रहेका क्रियाशील प्राज्ञिक व्यक्तिहरु मध्येबाट नगर प्रमुख रेनु दाहालले प्रज्ञा प्रतिष्ठानका पदाधिकारीहरु मनोनयन गर्नु भएको हो ।
प्रमुख दाहालले साहित्यकार इन्द्रप्रसाद रेग्मीलाई उपकुलपति पदमा मनोनयन गर्नुभएको छ । दाहालले साहित्यकारहरु केदारनाथ खनाल, प्रकाश चापागाईं र विष्णुदेवी तिवारी “उषा”लाई प्रज्ञा परिषदको सदस्यमा मनोनित गर्नु भएको छ ।
यसैगरी महानगरले प्रज्ञासभा सदस्यहरुमा अमृता रामदाम, डा.एकनारायण पौड्याल, एल.बी. क्षेत्री, प्रा.डा. कर्ण बानिया, डा. केशवराज चालिसे, किसान प्रेमी, गायत्री श्रेष्ठ, डा. धनेश्वर भट्टराई,प्रा.डा.नारायणप्रसाद खनाल, पूर्णबहादुर अधिकारी, पोषराज पौडेल, भूपेन्द्र खड्का भूपिन, रमाकान्त सापकोटा, रामहरि श्रेष्ठ, शशीकिरण रेग्मी रह शर्मा, श्रीराम महतो, सुरेन्द्र अस्तफल,हरि योञ्जनर होमनाथ भण्डारीलाई मनोनयन गरेको छ । महानगरपालिकाले कार्यपालिका सदस्यहरु मध्येबाट वडा नं. २५ का वडा अध्यक्ष विजय भुजेल र कार्यपालिका सदस्यहरु चक्र रूचाल र पवित्रा केसीलाई प्रज्ञा सभा सदस्यमा मनोनयन गरेको छ ।
यसैगरी प्रज्ञा परिषद र प्रज्ञा ससभाको सदस्य सचिवमा महानगरका अधिकृत छैठौं बालकृष्ण थपलियालाई मनोनयन गरिएको महानगरपालिकाले जनाएको छ । गत पौष ८ गते सम्पन्न महानगरको दशौं नगरसभाले भरतपुर महानगर प्रज्ञा प्रतिष्ठान ऐन २०७८ पारित गरेसँगै प्रतिष्ठान गठन गर्ने कानुनी आधार खुलेको थियो ।
ऐनबमोजिम प्रमुख प्रशासकीय अधिकृत रामबन्धु सुवेदीको संयोजकत्वमा सिफारिस समिति गठन गरिएको र समितिले सिफारिस गरेका व्यक्तिहरुमध्येबाट नगर प्रमुख रेनु दाहालले प्रज्ञा प्रतिष्ठानका पदाधिकारीहरु मनोनयन गर्नु भएको हो । प्रज्ञा प्रतिष्ठानको कुलपतिमा नगर प्रमुख र प्रज्ञा सभा सदस्यहरुमा उप प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, एकजना वडा अध्यक्ष सहित तीनजना कार्यपालिका सदस्य, नगर शिक्षा अधिकारीसमेत रहनेगरी ३१ सदस्य प्रज्ञासभा रहने व्यवस्था गरिएको छ ।






