चितवनः नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट उद्योगीहरुको संस्था नेपाल उद्योग संघको केन्द्रीय अध्यक्षमा डा तिलचन्द्र भट्टराई चयन हुनु भएको छ । शनिबार चितवनको सौराहमा सम्पन्न संघको दोश्रो साधारण सभा तथा अधिवेशनले सर्वसम्मतमा डा भट्टराईको अध्यक्षतामा १०१ सदस्यीय केन्द्रीय समिति गठन गरेको हो ।

समितिको उपाध्यक्षहरुमा सुनिल श्रेष्ठ, अर्जुनकुमार मैनाली, चिन्तामणी बास्तोला, महासचिवमा ईश्वरबहादुर गुरुङ्ग, उपमहासचिवमा दुर्गाप्रसाद गौतम र देवेन्द्रप्रसाद चौलागाईं, कोषाध्यक्षमा राजकुमार बन्जारा, सचिवहरुमा शोभा कोइराला, शोभाकान्त बस्याल, बिक्रम लिम्बु चेम्जोङ र प्रेम बस्नेत रहनु भएको छ । अन्य पदाधिकारी पछि मनोनयन गरिने निर्वाचन समितिका अध्यक्ष भिमलाल पौडेलले जानकारी दिनुभयो ।

अधिवेशनको नेकपा (एमाले) स्थायी कमिटी सदस्य एवं जनसंगठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालले उद्घाटन गर्नुभयो । उहाँले अबको युग निर्माणको भएकाले उद्योगी व्यवसायीहरुको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । उहाँले भन्नुभयो “समृद्धिको यात्रामा पूँजीको विकास गर्नुपर्छ, त्यसका लागि उद्योगीहरुको भूमिका महत्वपूर्ण रहन्छ ।”

साधारण सभामा अध्यक्ष डा भट्टराईले १० पृष्ठको प्रतिवेदन प्रस्तुत गर्नुभएको छ । उक्त प्रतिवेदन सभाले पारित गरेको छ । यस्तै महासचिव इश्वरबहादुर गुरुङ्गले प्रस्तुत गर्नुभएको सांगठनिक प्रतिवेदन पारित भएको छ ।

२०७० सालमा स्थापना भएको नेपाल उद्योग संघ नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघ अन्तर्गतको संस्था हो ।

प्रतिक्रिया दिनुहोस !