चितवनः भरतपुर महानगरपालिकाले रोजगारी सृजना तथा सहकारी प्रर्वधन कार्यक्रम अन्तर्गत सहकारी संघ संस्थाहरुलाई अनुदान स्वरुप बिभिन्न सामाग्री हस्तान्तरण गरेको छ ।
महानगर प्रमुख रेनु दाहाल र उपप्रमुख पार्वती शाह ठकुरीले सहकारी कर्मीहरुलाई समाग्री हस्तान्तरण गर्नु भएको हो । महानगर भित्रका ७ वटा सहकारीहरुलाइ भरतपुर महानगरबाट अनुदान स्वरुप रु १७ लाख बराबरको सामाग्री प्रदान गरिएको हो ।
समाज उत्थान कृषि सहकारी संस्था भरतपुर २१ र सर्वोद्धय बहुउदेश्यीय सहकारी संस्था भरतपुर ६ लाई रु ५÷५ लाख बराबरको तोरी मिल प्रदान गरिएको छ । त्यस्तै भागिरथी दुग्ध उत्पादक सहकारी संस्थालाई रु २ लाखको सामाग्री, नव सुन्दर बहुउदेश्यीय सहकारी संस्था भरतपुर १४ लाई रु १ लाख ५० हजारको कम्प्युटर ईन्भटर र प्रिन्टर , चितवन जिल्ला बचत तथा ऋण सहकारी संस्थालाई रु १ लाखको कम्प्युटर र प्रिन्टर प्रदान गरेको हो ।
त्यस्तै उज्जवल बहुउदेश्यीय सहकारी संस्था भरतपुर १४ लाइ रु १ लाख ५० हजारको कम्प्युटर, प्रिन्टर र फोटोकपी, आत्म निर्भर सामाजिक उद्धमी महिला सहकारी संस्था भरतपुर २४ लाई रु १ लाखको कम्प्युटर र प्रिन्टर प्रदान गरेको भरतपुर महानगर सहकारी शाखाकी बिष्णु आचार्य घिमिरेले जानकारी दिनुभयो ।
महानगर देशकै सहकारीको जननी भएकाले महानगर भित्र राम्रो गरेका सहकारीहरुको स्तर बिकासका लागी सहयोग प्रदान गरिएको महानगर प्रमुख दाहालको भनाई छ । सहकारीले समाजमा भएको गरिबिलाई घटाउन योगदान दिएकाले आफुहरुलेपनि सहकारीको बिकासमा ध्यान दिएको उपप्रमुख पार्बती शाह ठकुरीले बताउनु भयो ।
भरतपुर महानगर कृषि तथा पशुपन्छि ब्यवसाय प्रर्वधन शाखा प्रमुख तेजेन्द्र पौडेलले महानगरले कृषि क्षेत्रको बिकासमा धेरै ठुलो लगानी गरी परिणाम मुखी काम गरेको बताउनुभयो ।






