चितवनः आउँदो बैशाख ३० गते स्थानिय तहको निर्वाचन घोषणा भए संगै दलिय गतिबिधि टोलटोल सम्म पु¥याइएको छ । जिल्ला, क्षेत्र, प्रदेश, पालिका, वडाहुँदै टोल सम्म राजनैतिक दलका समिति बन्ने काम धमाधम भईरहेका छन् ।
जिल्लाका प्रमुख दलहरुले टोलमा भेला गरेर समिति बनाउने र निर्बाचन केन्द्रित अभियान सुरु गरेका छन् । नेकपा एमाले चितवनले टोलटोलमा एमाले, घरघरमा एमाले, जनताको सुख र दुखमा नेकपा एमाले भन्ने अभियान सञ्चालन गरिरहेको छ । यही फागुन २१ गतेबाट अभियान सुरु गरिएको हो । जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेका अनुसार टोल समितिमात्र २ सय भन्दा वढि गठन भई सकेका छन् । वडा तहमा बन्न बाँकी जनसंगठनका समिति बन्ने कामपनि भईरहेका छन् । यस संगै घरदैलो अभियान जारी राखिएको उहाँले जानकारी दिनुभयो ।
वडा तहलाई सम्भाबित उम्मेदवारको नामावली संकलन गर्न निर्देशन पनि दिइएको छ । जिल्लामा एमालेका २५ हजार संगठित सदस्य रहेकोमा नबिकरण २० हजारको भई सकेको न्यौपानेले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “हामी गाउँ तहमा केन्द्रित भएर अभियान गरिरहेका छौ ।”
नेपाली काङ्ग्रेसको नबनिर्बाचित समितिले पनि अभियान सुरु गरेको छ । घर –घर जाऔं, काङ्ग्रेस जिताऔं भन्ने अभियान सुरु गरेको हो । जिल्ला सचिब ध्रुबराज पोख्रेलका अनुसार जिल्ला तह र क्षेत्रीय तहमा कार्यक्रम गरि सकिएको छ । जिल्ला समितिको आज बस्ने बैठकले ९८ वटा वडामा २ जनाका दरले जिल्ला स्तरका प्रतिनिधि खटाउने तयारी गरिएको छ । ती प्रतिनिधिको उपस्थितिमा टोल टोल सम्म अभियान गरिने छ । धेरै टोल समितिहरु बनिसकेको भन्दै उहाँले बाँकी रहेका समितिहरु बन्ने बताउनुभयो ।
पार्टी सहित भातृ संस्थाका समितिहरु समेत बनाएर निर्बाचन केन्द्रित पार्टी भएको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “अबको निर्बाचनमा स्थानीय तहमा काङ्ग्रेसको बर्चश्व हुनेगरी हामी अभियानमा लागेका छौ ।” नेपाली काङ्ग्रेस चितवनको क्रियाशिल सदस्य २८ हजार रहेका छन् ।
नेकपा माओवादी केन्द्रले चुनाब केन्द्रत अभियान थालेको छ । टोल तह सम्म एकाध ठाउँमा बाहेक अन्यत्र समिति बनाउने काम भएको जिल्ला अध्यक्ष यमबहादुर परियारले बताउनुभयो । जनबर्गिय संगठनको तल्लो तहमा समिति बनाउने काम भईरहेको उहाँको भनाई छ । मोर्चा गठन, भेला सम्मेलनमा आँफुहरु केन्द्रित भएको परियारले बताउनुभयो । यसै हप्ता जिल्ला समितिको बैठक बसेर टोलटोलमा अभियान, घर–घरमा माओवादी भन्ने अभियानका साथ पार्टी टोलटोलमा पुग्ने उहाँले जानकारी दिनुभयो ।
जिल्लामा माओवादी केन्द्रका २५ हजार संगठीत सदस्य रहेको उहाँको भनाई छ । राष्ट्रिय प्रजातन्त्र पार्टी चितवनले पनि चुनाबी अभियानलाई तिब्रता दिईएको छ । जिल्लाका बरिष्ठ उपाध्यक्ष चेतनाथ वाग्लेले पार्टी प्रबेश संगै वडा कार्यालयहरु खोल्ने काम भइरहेको जानकारी दिनुभयो । समिति निर्माण गर्ने, पार्टी प्रबेश गराउने संगै कार्यालयहरु स्थापना गरेर पार्टीलाई निर्बाचन केन्द्रित बनाउने काम भईरहेको उहाँको भनाई छ । जिल्लामा राप्रपाका ९ हजार सक्रिय सदस्य रहेको बाग्लेले जानकारी दिनुभयो ।
गएको स्थानीय निर्बाचनमा जिल्लाका ९८ वडामध्ये नेकपा एमालेले ५७ वडाध्यक्ष जितेको थियो । नेपाली काङ्ग्रेसले ३५ र माओवादी केन्द्रले ६ वटा वडाध्यक्ष जितेको थियो । रत्ननगर, कालिका, खैरहनी र राप्ती नगरपालिकामा नेकपा एमालेले प्रमुख र उपप्रमुख दुबै जितेको थियो । भरतपुर महानगरपालिकामा माओवादी केन्द्रले प्रमुख र काङ्ग्रेसले उपप्रमुख जितेको थियो । माडी नगरपालिकामा माओवादी केन्द्रले प्रमुख र नेकपा एमालेले उपप्रमुख बिजयी हाँशिल गरेको थियो । इच्छाकामना गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा दुबै नेपाली काङ्ग्रेसले जितेको थियो ।
जिल्लामा तत्कालीन समयमा ३ लाख १३ हजार ३ जना मतदाता रहेका थिए । अहिले यो संख्या वढेर ३ लाख ९९ हजार ८ सय ७१ पुगेको छ ।






