
चितवन
जिल्ला प्रशासन कार्यालय चितवनले फागु पूर्णिमा (होली)लाई म¥यादित वनाउनमा अनुरोध गरेको छ । प्रमुख जिल्ला अधिकारी आसमान तामाङ्ले एक सूचना जारी गर्दै होलीमा कसैलाई पनि इच्छा विपरित रंग नदल्न आग्रह गर्नुभएको छ ।
होली मनाउने नाममा रितिरिवाज र परम्परा विपरित उछृङ्खल क्रियाकलाप नगर्न प्रशासनले आग्रह गरेको हो । सूचनामा सर्वसाधारणलाई दुःख दिने, इच्छा विपरित रंग दल्ने, लोला तथा फोहोर पदार्थले हान्ने, मादक पदार्थ सेवान गरेर अवाञ्छित क्रियाकलाप गरी शान्ति सुरक्षामा खलल पुग्ने गतिविधि नगर्न भनिएको छ ।
यसमा राजनीतिक दल, नागरिक समाज, पेशागत संघसंस्था, सञ्चारकर्मी, महिला सञ्जाल लगायत सबै पक्षबाट सहयोगको अपेक्षा गरिएको सूचनामा भनिएको छ । कसैले अवाञ्छित एवं उछृङ्खल क्रियाकलाप गरेको पाइए कारबाही गर्ने चेतावनी समेत प्रशासनले दिएको छ ।
यता जिल्ला प्रहरी कार्यालय चितवनले पनि सभ्य तरिकाले फागु पुर्णिमा मनाउन आग्रह गरेको छ । प्रहरीले होली खेल्दा अण्डा, मोबिल, लोला तथा फोहोर पानी प्रयोग नगर्न आग्रह गरेको हो ।
यस्तै मादक पदार्थ सेवन गरेर सवारी साधन नचलाउन तथा सवारी साधन तिव्र गति नचलाउन पनि प्रहरीले आग्रह गरेको छ । मोटरसाइकलमा दुई जना भन्दा बढी नचढ्न, अपरिचित व्यक्तिले दिएको खाने कुरा नखान, लागु औषध सेवन नगर्न तथा चर्को आवाज आउने गरि डिजे गीत र बाजा नबजाउन पनि प्रहरीले आग्रह गरेको छ ।