चितवनः नगरपालिका हुँदाको पुरानो भवनबाट सेवा दिंदै आएको भरतपुर महानगरपालिकाले रु. १ अर्ब हाराहारीको लागतमा अत्याधुनिक सुविधासम्पन्न प्रशासनिक भवन बनाउने भएको छ । जनप्रतिनिधिको कार्यकाल सकिंदै गर्दा संघीय सरकार र प्रदेश सरकारसँग बजेटको सुनिश्चितता गरेर भवन निर्माणको प्रक्रिया अघि बढाईएको हो ।

महानगरले रु.९४ करोड ३२ लाख ३० हजार २७१ अनुमानित लागतमा बोलपत्र आव्हान गरेको छ । महानगर प्रमुख रेनु दाहालले संघीय सरकारबाट रु.३५ करोड र बागमती प्रदेश सरकारबाट ठेक्का कबोल मूल्यको ५० प्रतिशत रकम सुनिश्चितता भईसकेको जानकारी दिनुभयो । रकम नपुग भएमा महानगरपालिकाले थप गर्ने छ । उहाँका अनुसार महानगरपालिकाको अत्याधुनिक आकर्षक प्रशासनिक भवन बनाउन लागिएको हो । भूमिगत (अण्डरग्राउण्ड) पार्किङ सहितको भवन हुनेछ । भूमिगत बाहेक ६ तले सो भवन १४ हजार १५२ वर्गमिटरको हुने उहाँले जानकारी दिनुभयो ।

महानगरको आफ्नो खर्चले धान्न मुस्किल हुने भएपछि संघ र प्रदेशबाट रकम जुटाएर भवन निर्माणको प्रक्रिया थालिएको दाहालको भनाई छ । उहाँले भन्नुभयो “आर्थिक जुटाउन र नक्सांकन तयार गर्नु परेकाले काम ढिलो भएको हो ।” महानगरको विकास बजेट कटौती नगरी रकम जुटाएर भवन बनाउन लागिएको उहाँले जानकारी दिनुभयो ।

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबन्धु सुवेदीले भवन ३० महिनाभित्र सम्पन्न गर्ने गरी बोलपत्र आव्हान गरिएको बताउनुभयो । भवनको भूमिगत तलामा ५० वटा कार र २५० वटा मोटरसाईकल पार्किङ गर्न सकिने छ । २ विगाहा १३ कठ्ठा १६ धुर जमिन रहेको क्षेत्रमा भवन बाहिर पनि पार्किङ र बगैंचा निर्माण गर्न ठाउँ रहने गरी भवन बनाउन लागिएको उहाँको भनाई छ ।

भवनमा दुई वटा लिफ्ट हुनेछन् । जेष्ठ नागरिक प्रतीक्षा कक्ष, पुस्तकालय, सांस्कृतिक प्रदर्शनी कक्ष, सभाहल, हरेक तलामा दुई÷दुई वटा बैठक कक्ष हुने उहाँको भनाई छ । भवनमा १५८ वटा सानाठुला कार्य कक्ष रहने छन् भने २२१ वटा कोठाहरु रहने छन् । भवनका हरेक तलामा अपागमैत्री शौचालय सहित प्रत्येक तलामा पुरुष र महिलाका लागि अलगै शौचालय रहने छ । पूर्ण अपाङ्गमैत्री सो भवनले आउँदो ६० वर्षसम्म सेवा दिन सक्ने गरी नक्सांकन गरिएको सुवेदीले जानकारी दिनुभयो । हाल महानगरमा ३ लाख ६९ हजार जनसंख्या रहेको छ ।

महानगरपालिकाका उपप्रमुख पार्वती शाह ठकुरीले भवन निर्माण भएसँगै महानगरवासीलाई सहज रुपमा सेवा प्रवाह गर्न सकिने बताउनुभयो । हाल पुरानो र साँघुरो भवनबाट सेवा दिन परिरहेको छ । कतिपय महाशाखा र शाखा फरक फरक ठाउँमा हुँदा नगरवासीले झन्झट व्यहोर्नु परेको उहाँको भनाई छ । उहाँले भन्नुभयो “अब आउने जनप्रतिनिधिले आधा कार्यकाल नयाँ भवनबाट सेवा दिन सक्नेछन् ।” भरतपुर क्षेत्रको उच्च ठाउँमा भवन हुने हुँदा महानगरको शहरी क्षेत्रको दृश्यावलोकन गर्न सक्ने आकर्षक भवन बन्ने उहाँको भनाई छ ।

महानगरका लेखा प्रमुख जगन्नाथ अर्यालले जनप्रतिनिधिको मिहिनेतका कारण संघ र प्रदेशबाट बजेट सुनिश्चतता भएकाले भवन निर्माण गर्न आर्थिक अभाव नहुने बताउनुभयो । उहाँको भनाईमा आन्तरिक आम्दानीबाट पूरै खर्च व्यहोर्नु पर्ने अवस्था आएको भए धान्न मुस्किल हुने र विकास बजेट कटौती गर्नुपर्ने अवस्था आउने थियो ।

प्रतिक्रिया दिनुहोस !