चितवनः भरतपुर महानगरपालिकाले महानगर भित्रका ६ सय ९२ विद्यार्थीका लागि छात्रबृत्ति वितरण गरेको छ । महानगरभित्रका ६७ वटा विद्यालयका कक्षा १ देखि ८ सम्मका लोपउन्मुख तथा सिमान्तकृत बालबालिकालाई छात्रबृत्ति वितरण गरिएको हो ।
महानगरले एक जना विद्यार्थीलाई रु ३ हजारका दरले रु २० लाख ७६ हजार नगद रकम छात्रबृति वितरण गरेको हो । महानगरको शैक्षिक प्रशासन महाशाखाले ११ वटा विद्यालयका २४० जना विद्यार्थीलाई छात्रबृत्ति प्रदान गरेको छ ।
महानगर प्रमुख रेनु दाहाल र उपप्रमुख पार्वती शाह ठकुरीले ११ विद्यालयका २४० विद्यार्थीलाई एक कार्यक्रमकाबीच रकम हस्तान्तरण गर्नु भएको हो । लोपउन्मुख तथा अति सिमान्तकृत समुदायका बालबालिकाको शैक्षिक विकासमा सहजता होस भन्ने उद्देश्यका साथ भरतपुर महानगरले पहिलो पटक नगद छात्रबृत्ति प्रदान गरेको हो ।

महानगरको कुल बजेटबाट १५ प्रतिशत रकम शिक्षामा लगानी गरेको शिक्षा शाखा प्रमुख महेन्द्र पौडेलले जानकारी दिनुभयो । भरतपुर महानगरले महानगरभित्रको शैक्षिक विकासमा धेरै ठुलो रकम लगानी गरेको महानगर प्रमुख दाहालले बताउनुभयो । विकट मानिएको वडा नम्वर २९ को पहाडका विद्यालयदेखि महानगरका अरु वडाका सबै विद्यालयका विद्यार्थीका लागि आवश्यकताका आधारमा शैक्षिक विकास गरेको उहाँको भनाई छ ।

विद्यालयको भैतिक पूर्वाधार विकास, पाठ्य सामाग्रीको प्रबद्र्धनदेखि विद्यार्थीका लागि छात्रबृत्ति, दिवा खाजा कायक्रम, स्कुल बस वितरण, साईकल वितरण लगाएत अरु धेरै भौतिक तथा आर्थिक सहयोग गरेको दाहालको भनाई छ ।

आफुहरुले महानगर भित्रको शिक्षाको विकासमा सुरुका चरणदेखि नै विशेष अभियान थालेको र त्यसले विस्तारै पुर्णत पाउँदै गएको उपप्रमुख शाहले बताउनुभयो । अहिले सरकारी विद्यालयमा विद्यार्थी भर्ना हुने क्रम बढेको र सरकारी विद्यालयको शिक्षाको गुणस्तर धेरै विकास भएको शाहको भनाई छ । विपन्न समुदायका विद्यार्थीको हितमा महानगर निरन्तर लागिरहेको उहाँले बताउनुभयो ।

छात्रवृत्ती वितरण गर्न बाँकी विद्यालयका विद्यार्थीका लागि प्रदान गरिने रकम बंैक मार्फत विद्यालयको खातामा पठाएको महाशाखा प्रमुख पौडेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस !