चितवनः कृषि सम्बन्धी बृहत अन्तर्राष्ट्रिय प्रर्दशनी सुरु भएको छ । चितवन अन्तराष्ट्रिय औद्योगिक प्रदर्शनी परिसरमा सुरु भएको चौथो प्रर्दशनीको बागमती प्रदेश कृषि मन्त्रि बसुन्धरा हुमागाईले आज उद्घाटन गर्नु भएको हो ।
सो अबसरमा मन्त्री हुमागाईले बागमती प्रदेशको कृषि क्षेत्रका बिभिन्न आयोजनालाई समेट्दै ५१ बुँदे मार्गचित्र तयार पारेको बताउनुभयो । बागमती प्रदेशको कृषि क्षेत्रलाई व्यवस्थित गर्न परिकल्पना गरिएको समेत उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो “प्रदेश सरकारको कृषि तथा पशुपंक्षी मन्त्रालयले कृषिको क्षेत्रमा के–के गर्न सक्छौं भनेर ५१ बुँदे मार्गचित्र बनाएका छौं । बागमतीको कृषि क्षेत्रलाई कसरी व्यवस्थित गर्न सक्छौं भनेर परिकल्पना गरेका छौं ।”
कार्यक्रममा मिडिया स्पेसका प्रवन्ध निर्देशक श्रीजल भट्टराईले विदेशमा प्रयोग भएका कृषि उपकरणहरुलाई नेपाल भित्राउनु प्रदर्शनीको मुख्य उद्धेश्यका साथ प्रदर्शनी गरिएको बताउनुभयो । प्रदर्शनी सबै खाले किसानका लागि उपयोगी हुने उहाँको भनाइ थियो ।
तीन दिन सम्म चल्ने प्रदर्शनीमा स्वदेशी तथा विदेशी गरी १ सय ५० भन्दा बढी कृषि सम्बन्धी कम्पनीहरुका स्टलहरु रहेका छन् । कृषिका नविनतम औजार, थोपा सिचाई, बिषादी रहित कृषि उपकरण, केराखेती, कुखुरापालन, माछापालन, बाख्रापालन, गाई भैंसी पालन, डेरी लगायतका बिषयमा प्रर्दशनी केन्द्रित रहेको छ ।
प्रर्दशनीमा होटल तथा रेष्टुँरामा प्रयोग हुने मेसिनहरुको छुट्टै पेरिसर रहेको छ । सो परिसरमा फुड र वेवरेजका ५० वटा स्टल रहेका छन् । प्रर्दशनीमा देशभरबाट उद्यमी अनुसन्धानकर्ता, विद्यार्थी, संघ संस्थाका प्रतिनिधि लगायत कृषकहरुले आधुनिक प्रविधिहरुको अनुसरण र आवश्यक परामर्श लिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस !