काठमाडौँ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न उनको निवास खुमलटार पुगेका छन् ।

प्रधानमन्त्री देउवा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेको दोस्रो दिन आज बिहानै सत्तासाझेदार दल माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई भेट्न खुमलटार पुग्नुलाई राजनीतिक वृत्तमा उच्च महत्वका साथ हेरिएको छ ।

संसदमा एमसीसी टेबल गरेपछि प्रधानमन्त्री देउवा सक्रिय भएर पारित गर्नका लागि दौडधुप बढाएका छन् । प्रधानमन्त्री देउवा संसदमा पेश भएको एमसीसी जुनसुकै गठबन्धन गरेर जसरी भएपनि पास गर्न चाहन्छन् ।

सरकार एमसीसी पास गर्ने तयारी रहेकाले बुधबार बिहान प्रधानमन्त्री देउवा एमसीसी र गठबन्धनबारे छलफल गर्न प्रचण्ड निवास खुमलटार पुगेका हुन् । देउवा भरसक सत्ता गठबन्धन कायमै गरेर एमसीसी पास गर्न चाहन्छन् । तर सत्ता गठबन्धनभित्रका दल माओवादी केन्द्र र एकीकृत समाजवादी दोहोरो भूमिकामा देखिएकाले दवाव सिर्जना गर्न प्रमुख प्रतिपक्षी एमालेसँग पनि देउवाले भेटवार्ता तीब्र बढाएका छन् ।

एमसीसी सम्झौता संसदवाट अनुमोदन गर्नका लागि प्रधानमन्त्री देउवाले गरेको आग्रह प्रमुख प्रतिपक्ष दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले अस्वीकार गरेको भन्ने समाचार बाहिर आएका छन् । तर देउवा र ओलीवीच भएको बालुवाटार वार्तामा भित्रभित्रै ‘जेन्टल एग्रिमेन्ट’ भएको भन्ने चर्चा चल्न थालेको छ ।

हिजो मंगलबार साँझ बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री देउवाले आफूलाई सत्तारूढ गठबन्धनभित्रबाटै संसदमा टेबल भएको एसमीसी पारितका लागि असहयोग भएको भन्दै सहयोग गर्न अध्यक्ष ओलीलाई आग्रह गरेका थिए ।

जवाफमा ओलीले आफूहरूका माग पूरा नभएसम्म संसदीय प्रक्रियामा प्रवेश गर्न नसकिने बताएका थिए । उनले आफूहरूले विगत ६ महिनादेखि सदनमा जायज मागहरु राखी आवाज उठाएपनि सरकारले बेवास्ता गरेको बताएका थिए ।

ओलीले ती मागहरु पूरा नभएसम्म अन्य कुनै पनि संसदीय प्रक्रियामा प्रवेश गर्न नसक्ने कुरा पुनः स्पष्ट पारेका थिए । ‘निल्नु न ओकल्नु’ भनेझैँ प्रधानमन्त्री देउवालाई संसदमा टेवुल गरेको एमसीसी पास गर्न ‘भालुको कम्पट’ जस्तै भएको छ ।

कांग्रेस महामन्त्री गगन थापाले सरकारले ल्याएको प्रस्तावका विपक्षमा मतदान गर्नेसँग सरकारमा सँगै बस्न नसकिने बताएका छन् । सरकारमा सहभागी भई सरकारकै प्रस्तावका विपक्षमा मतदान गर्नु अनैतिक र अव्यावहारिक हुने महामन्त्री थापाको भनाइ रहेको छ ।

कांग्रेसका नेताहरु गठबन्धन दलका नेताले एमसीसीको विपक्षीमा मतदान गरेमा गठबन्धन टुट्ने बताउँनुका साथै माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीले तुरुन्त सरकार छाड्नुपर्नेसम्मको चेतावनी दिंदै आएका छन् । प्रधानमन्त्री देउवा अहिले तनावमा हुनुका साथै भोलि बिहीबार संसद् बैठक बस्ने भएकाले दौडधुप बढाएका हुन् ।

माओवादी केन्द्र र एकीकृत समाजवादीले एमसीसी संसदमा टेवुल गर्न दिएपनि राष्ट्रिय सहमतिबिना पास गर्न नहुने आडान राख्दै आएका छन् । प्रचण्ड र माधव नेपालले एमसीसीको विषयमा देखाएको दोहोरो चरित्रले देउवा वाक्कदिक्क भएका छन् । देउवा र प्रचण्डको यो भेटलाई नेकपा हुँदा ओली र प्रचण्डको खुमलटारमा भएको अन्तिम भेटको रुपमा समेत लिएर तुलना हुन थालेको छ ।

यदि एमसीसी पास गर्न प्रचण्ड सहमतिमा आएमा गठबन्धन कायमै राख्ने नत्र गठबन्धन तोडेर ओलीसंग सहकार्य गरेरै भएपनि संसदवाट एमसीसी पास गर्ने मुडमा देउवा देखिएका छन् । त्यसैले देउवा र प्रचण्डवीचको आजको यो भेटवार्ता निर्णायक पनि हुनसक्ने प्रवल सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस !