चितवनः जिल्लाको रत्ननगर नगरपालिकाले किसानलाई गोबर मल खरिदमा ५० प्रतिशत अनुदान दिएको छ । प्राङ्गारिक खेतीप्रति किसानलाई जागरुक बढाउन नगरपालिकाले अनुदान दिन शुरु गरेको हो । मलमा अनुदान दिन नगरपालिकाले रु. ५० लाख विनियोजन गरेको छ ।

नगर क्षेत्रमा एक टेलर मलको रु. ३ हजारदेखि रु.३ हजार ५०० सम्म पर्ने गरेको छ । नगरपालिकाले एक टेलर मल खरिदमा रु. १ हजार ५०० उपलब्ध गराउने भएको छ । एक विघा जग्गा क्षेत्रफल हुने किसानले चार टेलरको अनुदान पाउने छन । एक विघा जग्गाको लागि गोबर मल खरिद गर्न किसानले रु. ६ हजार अनुदान रकम पाउने नगर प्रमुख नारायण वनले बताउनुभयो ।

नगरपालिकामा सुचिकृत भएका पशुपालन फर्महरुबाट किसानहरुले गोबर मल खरिद गर्नुपर्ने छ । त्यसका लागि अहिलेसम्म १० वटा पशुपालन फर्म सुचिकृत भएका छन् । वनले रासायनिक मलको प्रयोग घटाउन गोबर मल खरिदमा अनुदान दिएको बताउनुभयो । उहाँले भन्नुभयो “हामीले किसानलाई अनुदानमा गाई दिएका छौं । पशुपालनलाई कृषिसँग जोडेर उत्पादन बढाउने हाम्रो लक्ष्य हो ।” अन्नबालीमा रासायनिक मलको प्रयोगका कारण प्राणघातक रोगको शिकार हुनु परेको भन्दै अर्गानिक उत्पादन गरेर स्वास्थ्य सुरक्षा गर्ने अर्को उद्देश्य रहेको उहाँको भनाई छ ।

नगर उपप्रमुख विमला दुवाडीले वाली लगाउने बेला हुने मलको हाहाकारबाट किसानलाई मुक्ति दिलाउन गोबर मलमा अनुदान दिएको बताउनुभयो । उहाँले भन्नुभयो “एकातिर गोबर नबिक्ने, अर्काेतर्फ खेती गर्ने किसानले मल नपाउने समस्या छ, यसले समस्या समाधान हुन्छ ।”

नगरपालिकाले कृषि क्षेत्रका विविध शीर्षकमा अनुदान दिंदै आएको छ । यस अघि गाई खरिद, दूध, मेसिनरी, सिंचाई लगायतमा अनुदान दिंदै आएको छ ।

प्रतिक्रिया दिनुहोस !