चितवनः कोरोनाका कारण स्थगन गरिएको रत्ननगर महोत्सब यही फागुन १५ गते देखि संञ्चालन हुने भएको छ । पुष २७ गते देखि संञ्चालन गर्ने भनिएको महोत्सब कोरोनाका कारण अन्तिम समयमा स्थगन गरिएको थियो ।
उद्योग बाणिज्य संघ रत्ननगरका अध्यक्ष अनिल कृष्ण श्रेष्ठका अनुसार स्थगन गरिएको महोत्सब फागुन १५ गतेबाट २३ गते सम्म सञ्चालन गर्न लागिएको हो । महोत्सबमा हुने चौथो चिकेन एण्ड एग फुड फेष्टिवल फागनु १६ गते देखि १९ गते सम्म सञ्चालन हुने उहाँले बताउनुभयो । फुड फेष्टिवल सौराहा चोकमा हुने छ । महोत्सब उद्घाटनको अन्तिम तयारीमा पुगेको समयमा कोरोना महामारीका कारण स्थानिय प्रशासनले २५ जना भन्दा वढि सहभागी हुने कार्यक्रममा रोक लगाए संगै उद्घाटनको अघिल्लो दिन महोत्सब स्थगित भएको थियो ।
महोत्सबमा सबै संरचना त्यतिवेलानै बनाईएको थियो । बिग्रेभत्केका संरचनालाई मर्मत सम्भार गरि महोत्सब गर्न लागिएको हो । महोत्सबमा ३ सय ५० स्टलहरु रहने छन् ।
महोत्सबमा कृषि उत्पादन र माछाको नयाँ प्रबिधिलाई प्रथामिकता दिईने भएको छ । उद्योग बाणिज्य संघ रत्ननगरको आयोजनामा हुन लागेको महोत्सबमा बृहत व्यवसायिक कृषि प्रर्दशनी तथा प्रतियोगिता, ताजा तरकारी, थोपा सिंचाई प्रविधि, केरा, च्याउ, दुग्धजन्य पदार्थ, पोल्ट्री, महसंगै चितवनमा प्रवल सम्भावना भएका कृषि तथा पशुजन्य व्यवसायलाई विशेष जोड दिईने छ ।
मुल आयोजक समितिका संयोजक एबं उद्योग वाणिज्य संघ रत्ननगरका अध्यक्ष श्रेष्ठले स्थानीय स्तरमा उत्पादित ताजा तरकारी, फलफुल, दुग्ध जन्य पदार्थ, पोल्ट्री लगायत कृषि व्यवसायसंग सम्बन्धित विभिन्न सेवा, प्रविधि एवम् मल विउ विजनहरु महोत्सवमा प्रदर्शनको व्यवस्था गरिने जानकारी दिनुभयो । महोत्सव अवधिभर कृषिसंग सम्बन्धित विभिन्न गोष्ठी, अन्तक्रिया कार्यक्रम, चितवनको आर्थिक विकास र उन्नयनका लागि विशेष आर्थिक क्षेत्रको स्थापना र चुनौती विषयक छलफलहरु गरिने उहाँले बताउनुभयो । महोत्सवमा माछापालनमा नयाँ वायोफलक प्रविधि प्रदर्शनी साथै माछापालन गर्ने तरिका तथा बजारीकरणको विषयलाई प्राथमिकतामा राखिएको छ । उहाँले भन्नुभयो “माछापालन व्यवसायको पवर्धनको लागि महोत्सवमा माछाको भुराको प्रर्दशनी, अत्याधुनिक माछासहितको पोखरी, माछालाई आवश्यक पर्ने औषधि तथा दानाका स्टलहरु चेतनामुलक सामाग्री, श्रव्यदृश्य तथा गोष्ठी गरिने छ ।”
“रत्ननगर महोत्सव हाम्रो पहिचान, व्यवसायिक कृषि र पर्यटन प्रर्वधन हाम्रो अभियान” भन्ने मुल नाराका साथ आयोजना गर्न लागिएको महोत्सब ११ औं संस्करण हो । विगत दुई दशकदेखि प्रत्येक दुई दुई वर्षमा आयोजना हुने यस महोत्सवले समग्र जिल्ला तथा विशेष गरी पूर्वी चितवन र रत्ननगरको कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य विज्ञान, प्रविधि, कला, संस्कृति, व्यापार व्यवसाय र अन्य आर्थिक महत्वका क्षेत्रहरूको आधुनिकीकरण, वैज्ञानिक उत्पादन प्रणालीसंग अभिमुखीकरण गराउने प्रमुख उद्देश्य लिएको छ ।