चितवनः राष्ट्रिय महिला फुटबल लिगको दोस्रो संस्करणका पहिलो चरणका खेलहरु भरतपुरमा हुने भएको छ । भरतपुर महानगरपालिकाले सहयोग गर्ने भए पछि महानगर भित्रका दुई खेल मैदानमा फागुन १० गतेबाट खेल हुने भएको हो ।
लिगको पहिलो चरणको खेलहरु सञ्चालनका लागि भरतपुर महानगरपालिका र अखिल नेपाल फुटबल संघ (एन्फा) बिच सम्झौता भएको छ । सम्झौता पत्रमा महानगर प्रमुख रेनु दाहाल र एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले हस्ताक्षर गर्नुभएको छ । महानगर प्रमुख दाहालले कार्यकालको अन्तिम समयमा राष्ट्रिय महिला लिग भरतपुरमा आयोजना गर्न पाउनु गर्वको बिषय भएको बताउनुभयो । प्रमुख र उपप्रमुख पनि महिला नै भएको महानगरमा महिला लिग हुनु अर्को गर्वको बिषय भएको उहाँको भनाइ छ । यसले महानगरलाई राष्ट्रिय रुपमा खेलका हिसाबले चिनाउने बताउँदै उहाँले व्यवस्थित खेल मैदान महानगरमा बन्ने क्रममा रहेका बताउनुभयो । यसले खेल पर्यटन बिकासमा सहयोग पुग्ने दाहालले जानकारी दिनुभयो ।
महानगरले खेल क्षेत्रको बिकासमा सधैं जोड दिएको उहाँको भनाई छ । एक वडा एक खेल मैदान अन्तर्गत महानगर भित्रका मुख्य पाँच वडामा खेल मैदान निर्माण गरिएको उहाँले जानकारी दिनुभयो । एन्फा अध्यक्ष शेर्पाले भरतपुर देशकै मध्यभागमा रहेकाले राष्ट्रिय महिला लिगको पहिलो चरणका खेलहरु यहाँ आयोजना गर्न लागिएको बताउनुभयो । चितवन फुटबलको उर्वर भूमि भएकोले भरतपुरमा लिग आयोजना गर्न महानगरसँग सम्झौता गरिएको उहाँको भनाइ छ ।
सम्झौता अनुसार लिग सञ्चालनका लागि महानगरले एन्फालाई रु २० लाख आर्थिक सहयोग उपलब्ध गराउनेछ । राष्ट्रिय महिला लिगको दोस्रो चरणको खेलहरु भने बिराटनगरमा हुनेछ । लिगका ५६ मध्ये २८ खेल चितवनमा हुनेछ । खेलहरु भरतपुर महानगरपालिका वडा नम्बर ७ स्थित कृष्णपुर खेल मैदान र भरतपुर महानगरपालिका वडा नम्बर १९ को खेल मैदानमा हुनेछ । केही दिन भित्रै खेल तालिका सार्वजनिक गरिने छ ।
यस पटक महिला लिगमा तीन बिभागीय टोलीहरु नेपाल प्रहरी क्लब, त्रिभुवन आर्मी क्लब र शशस्त्र प्रहरी बल (एपीएफ) सहित, वालिङ, बिराटनगर, चपुर, धनगढी र ललितपुर भिड्नेछन् । यस अघि पहिलो संस्करणको महिला लिग काठमाडौंमा भएको थियो ।

प्रतिक्रिया दिनुहोस !