चितवनः शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्रालयले निर्माण गर्न लागेको शिक्षक अस्पताल भरतपुर महानगरपालिकामा बनाउन महानगरले प्रस्ताब गरेको छ । महानगरपालिकाको वडा नम्बर १५ भगवानपुरमा आबश्यक जग्गा उपलव्ध गराउन महानगर तयार भएको हो ।
मन्त्रालयले पूर्ब सम्भाव्यता अध्ययन र जग्गाको पहिचान गर्न समिति बनाएर काम अघि वढाएको थियो । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालका अनुसार भगवानपुरमा ८ विगाहा, १६ कठ्ठा जग्गा उपलव्ध गराउन आबश्यक निर्णय गरि आज आबश्यक कागजपत्र मन्त्रालयमा पेस गरिदैं छ । महानगरपालिकाले प्रमुख जिल्ला अधिकारी सहित जिम्मेबार सरोकारवालाहरु समेत वसेर सो जग्गा शिक्षक अस्पतालका लागि उपलव्ध गराउने सहमती गरेको हो । सहमती पत्रमा शिक्षक अस्पताल स्थापनाका लागि महानगरपालिकाको सहमती प्रदान गर्ने निर्णय भएको जानकारी गराईएको छ ।
सहमती पत्र संगै सार्बजनिक जग्गाको फिल्ड बुक र नक्सा, प्राबिधिक (नापी कर्मचारी)को स्थलगत नापजाँच प्रतिबेदन, वडा नम्बर १५ को सहमती पत्र र महानगरपाकिलाको निर्णय प्रतिलिपि सहित पेश गरिने दाहालले जानकारी दिनुभयो । देशकै केन्द्रभागमा रहेकाले चितवन उपयुक्त हुने सरोकारवालाहरुको भनाई छ । प्रमुख दाहालले भन्नुभयो “शिक्षा मन्त्री ज्यूले राजधानि पछिको मेडिकल सिटि र देशको मध्यभागमा पर्ने भएकाले भरतपुर उपयुक्त हुन्छ भन्नेमा हुनुहुन्छ ।” स्वयम मन्त्री र सरोकारवालाहरुले पनि भरतपुरलाई उपयुक्त ठानेका छन् ।
महानगरपालिकामा शिक्षक अस्पताल बनेमा पछि यो शिक्षाण अस्पताल हुने दाहालको भनाई छ । यसले यहाँको समग्र बिकासमा समेत सहयोग पुग्ने उहाँ बताउनुहुन्छ । महानगरले प्रस्ताब गरेको क्षेत्र पूर्ब प्रधानमन्त्री एबं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्बाचन क्षेत्र हो । स्वयम प्रचण्ड समेत भरतपुरमा शिक्षक अस्पताल बनाउने कुरामा सकारात्मक भएर लाग्नु भएको प्रमुख दाहालले जानकारी दिनुभयो ।
भरतपुरमा क्यान्सर अस्पताल, दुई ठूला मेडीकल कलेज, संघिय सरकारी अस्पतालको सुबिधा भएकाले काठमाडौं बाहिर आउँदैं गर्दा भरतपुर जस्तो उपयुक्त ठाउँ अन्यत्र नहुने उपप्रमुख पार्बती शाह ठकुरीले वताउनुभयो । उहाँले भन्नुभयो “सबै हिसाबले शिक्षक अस्पताल भरतपुरमा उपयुक्त हुन्छ ।”
शिक्षा मन्त्रालयले डा. विमल चालिसेको संयोजकत्वमा पूर्ब सम्भाव्यता अध्ययन र जग्गा पहिचान समिति बनाएको थियो । समितिका सदस्य शिक्षक महासंघका सह संयोजक पूर्ण प्रसाद दवाडीले समितिले हेरेका अन्य क्षेत्रका तुलनामा भरतपुरको जग्गा उपयुक्त रहेको बताउनुभयो । उहाँले भन्नुभयो “अन्यत्र पनि नराम्रो छैन । सबै हिसाबले भरतपुर अरु राम्रो छ ।”समितिले चितवन संगै मकवानपुरको चित्लाङ् र भक्तपुरको जगती र गुन्डुलाई सम्भावित भन्दै प्रस्ताब गर्दै छ । केही दिनमा प्रतिवेदन बुझाउने तयारीमा समिति रहेको उहाँले जानकारी दिनुभयो । समितिले नवलपरासी, मकवानपुर, ललितपुर, काठमाडौंमा समेत जग्गा हेरेको थियो ।
समितिले जग्गा हेर्नु पूर्ब पेशागत संग संगठन संग छलफल समेत गरेको दवाडीले जानकारी दिनुभयो । अधिकांशले मध्यभाग भएकाले भरतपुरलाई रुचाइएको जनाईएको छ । भरतपुर महानगरपालिकाका शिक्षा महाशाखा प्रमुख महेन्द्र प्रसाद पौडेलले समितिले भनेको भन्दा धेरै जग्गा एकै ठाउँमा मिलेको भरतपुर उपलव्ध गराउन सहमत भएको बताउनुभयो । सबै हिसाबले भरतपुर उपयुक्त हुने उहाँ बताउनुहुन्छ । शिक्षा मन्त्रालयले सुरुमा तीन सय शैय्या र क्रमश शैय्या थप गर्दै लैजाने योजना वनाएको छ । अस्पताल संगै व्यवस्थित कुरुवा घर वनाईदैं छ ।

प्रतिक्रिया दिनुहोस !