चितवनः कृषि तथा वन विज्ञान विश्व विद्यालय रामपुरमा कार्यरत दैनिक ज्यालादारी मजदुरले आन्दोलन गरे पछि त्यहाँ पालिएका गाई भैसीले खान पाएका छैनन् । गोठमा काम गर्ने करार र स्थायी मजदुरलाई पनि आन्दोलनरत मजदुरले नियमित काम गर्न नदिएको विश्वविद्यालयले जनाएको छ ।
विश्व विद्यालयमा १ सय १५ जना दैनिक ज्यालादारी मजदुर रहेका छन् । उनीहरुको माग करार नियुक्ति पाउनु पर्ने रहेको छ । आन्दोलनरत मजदुरहरुले भदौ २० गते विश्वविद्यालयको केन्द्रिय कार्यालय, डिन, सहायक डिन र प्रशासकहरुको कार्यकक्षमा तालाबन्दि गरेर आन्दोलन थालेका हुन । विश्वविद्यालयको पशुविज्ञान, पशुचिकित्सा र मत्स्य विज्ञान संकायका डीन डा. होम वहादुर बस्नेतका अनुसार चार दिन देखि पानी खान नपाएका गाई भैसीलाई आज बिहान मजदुरहरुले दाना पानी दिएको बताउनुभयो ।
आन्दोलनरत मजदुरलाई निकै अनुरोध पछि दाना पानी दिने व्यवस्था मिलाईएको उहाँको भनाई छ । चार दिन सम्म दानापानी खान नपाए पछि गाइभैसीको अबस्था दयानिय वनेको छ । उहाँले भन्नुभयो “मजदुरले दुध दुहेर नालिमा फाल्दै आएकोमा निकै अनुरोध पछि बंगुरको बच्चालाई दिईएको छ ।” दैनिक ७० लिटर दुध हुने गरेकोमा अहिले ३० लिटर हाराहारीमा झरेको बस्नेत वताउनु हुन्छ । गोठमा गत एक सातामा ६ वटा भैसी व्याएका छन् । १४ वटा व्याउने अबस्थामा छन् ।
रामपुरको गोठमा मात्र ६५ वटा भैसी रहेको उहाँको भनाई छ । गोठमा हालै मात्र उन्नत जातका पाँचवटा गाई ल्याइएको छ । गोठमा १९ वटा गाई छन् । बस्नेतको भनाईमा गाई भैसी व्याउने समय भएकाले आन्दोलनका कारण ती पशु प्रभावित भएका छन् । यस संगै अध्ययनका लागि २६ वटा वंगुर, ६ वटा बाख्रा, १० वटा कुखुरा, स्थानीय सुंगुर ६ वटा, हालै रु १ लाख ५० हजारमा खरिद गरेर ल्याईएको एउटा राँगो र २० वटा भेडा रहेका छन् । ती पशुचौपायालाई नियमित दाना पानी र चरिचरण वन्द गरे पछि पूर्ण रुपमा प्रभावित वनेको उहाँ बताउनुहुन्छ ।
गाईभैसी मर्ने अबस्था देखिए पछि मजदुरहरुलाई अनुरोध गरेर आज बिहानबाट दाना पानी नरोक्न भनिएको बस्नेतको भनाई छ । गोठमानै रहनुभएका बस्नेतले भन्नुभयो “यो अत्याबश्यक क्षेत्र भएकाले काम नरोक्न अनुरोध गरेका छौ ।” गोठमा २६ जना मजदुर काम गर्दछन् । ती मध्ये १४ जना दैनिक ज्यालादारीका हुन । १२ जना स्थायी करारका रहेका छन् । अन्य बिभागमा काम गर्ने आन्दोलनरत मजदुर समेत त्यहाँ सहभागी भएर धर्ना दिएको उहाँले जानकारी दिनुभयो ।
नेपाल सरकारको ऐन नियममा श्रेणी बिहिन कर्मचारीलाई करार गर्न नमिल्ने भएकाले समस्या परेको बस्नेत बताउनुहुन्छ । आन्दोलनरत मजदुर घनश्याम न्यौपानेले आँफुहरुले पशु चौपायाको दानापानी प्रभावित हुनेगरि नरोकेको दावि गर्नुभयो । उहाँको भनाईमा बिगतमा झै नभए पनि पशुचौपायले खान पाएका छन् । आँफुहरु अन्यायमा परेको उहाँको भनाई छ । प्रशासनले मागको वेवास्ता गरे पछि आन्दोलन गर्न बाध्य भएको न्यौपानेले बताउनुभयो । मजदुरहरु मध्ये माथिल्लो तहकालाई करारका लागि प्रकृया अघि वढाईएको भए पनि योग्यता भएर पनि अन्यले अबसर नपाएको न्यौपाने बताउनुहुन्छ । विगत केही वर्ष यता यस बिश्वद्यिालयमा बिभिन्न नाममा आन्दोलन हुदैं आएको छ । गत वर्ष भर हुन नसकेको सिनेट बैठक हालै मात्र भएको छ ।
विश्वविद्यालयका पदाधिकारी जिम्मेवार नहुँदा समस्या समाधानको सट्टा वढ्दै गएको त्यहाँ कार्यरत प्रध्यापकहरु वताउँछन् ।






