काठमाडौं:
नेकपा एकीकृत समाजवादी पार्टीका वरिष्ठ नेता झलनाथ खनालले आफूले एमाले फुटाएको नभई विद्रोह गरेको बताउनुभएको छ ।
नवौं महाधिवेशनपछि अहंकारी गुटले एमालेको नेतृत्व कब्जा गरेको र अध्यक्ष ओलीले पार्टीलाई दक्षिणपन्थी अवसरवाद, अहंकारवाद, व्यक्तिवादमा लगेकाले विद्रोह गर्नु परेको उहाँले बताउनुभयो । भारतमा उपचार गरेर सोमबार स्वदेश फर्किएका नेता खनालले भन्नुभयो “विद्रोह नवनिर्माणका निम्ति हो ।”
पूर्व प्रधानमन्त्री खनालले आफ्ना जीवन नाफाको भएको बताभयो । ७१ वर्ष लागिसकेकाले अब कार्यकारी पदमा दाबी नगर्ने र देश, रा्ष्ट्रियता र कम्युनिस्ट आन्दोलनको विकास र विस्तारमा काम गर्ने उहाँले बताउनुभयो ।
सोमबार अपरान्ह काठमाडौंको त्रिभुवन विमानस्थलमा अवतरण गरेका पूर्व प्रधानमन्त्री खनाललाई स्वागत गर्न नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, बेदुराम भुसाल, मुकुन्द न्यौपाने, प्रमेश हमाल, राजेन्द्र पाण्डेलगायतका नेताहरु पुगेका थिए ।
विमानस्थलबाट बाहिरिँदा खनाल ह्वील चेयरमा बस्नुभएको थियो । विमानस्थलमा खनालको तर्फबाट एकीकृत समाजवादीका नेता प्रमेश हमालले विज्ञप्ति वाचन गर्नुभएको थियो । पछि खनालले ह्वीलचेयरमै बसेर सम्बोधन गर्नुभयो।
मिर्गौलामा समस्या देखिएपछि खनाल असार २ गते उपचारका लागि दिल्ली जानुभएको थियो । उहाँ करिब साढे २ महिनापछि स्वदेश फर्किनुभएको हो ।
आफ्नो उपचारमा सहयोग गरेकामा खनालले तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री विष्णु पौडेल, हालका प्रधानमन्त्री शेरबहादुर देउवा, माधवकुमार नेपाल र सत्तारुढ गठबन्धनका नेताहरुलाई धन्यवाद दिनुभयो ।
खनालले आफूलाई पत्नीकी दिदीकी छोरी मेरिना चित्रकारले मिर्गौला दिएको जानकारी दिनुभयो । मिर्गौला प्रत्यारोपणपछि आफूले पहिले भन्दा पनि ताजा महसुस गरेको खनालले बताउनुभयो ।
‘पछिल्लो सर्जरीपछि विल्कुलै नयाँ जीवन प्राप्त गरेको छ, यो मेरो जीवन नाफाको जीवन हो, बोनसको जीवन हो । ७१ वर्ष पार गरिसकेँ । सास रहुन्जेल, देश, राष्ट्रियता, कम्युनिस्ट आन्दोलनको विकास, विस्तार र सुदृढिकरणमा लगाउँछु’ उहाँले भन्नुभयो ।








