चितवनः नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । भरतपुर महानगरपालिका वडा नम्बर २९ सेतिदोभानमा पहिरो खस्दा अवरुद्ध भएको सडक करिब १३ घण्टापछि दुबैतर्फी खुलेको हो ।
पहिरो पन्छाएपछि आज बिहान ९ बजेबाट सडक दुबैतर्फी खुलेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ । बिहीबार राति ८ः२० बजे सेतिदोभानमा पहिरो खसेको थियो । सडक सञ्चालनमा आए संगै रोकिएका सवारी साधनहरु गन्तव्यतर्फ लागेका छन् ।
उता नारायणगढ मुग्लिन अन्तर्गत चौध किलोमा भने सडक एकतर्फी मात्रै सञ्चालनमा छ । चौध किलोमा कालोपत्रे भासिएकोले अहिले सडक एकतर्फी मात्रै सञ्चालनमा रहेको प्रहरीले जनाएको छ ।
अबिरल वर्षाका कारण चौध किलोमा बिहीबार रातिदेखि नै सडक भासिएको हो । सडक भासिने क्रम अझै रोकिएको छैन ।






