बुटवल: लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेशसभामा विश्वासको मत माग्नुभयो । आज अपरान्ह बसेको प्रदेशसभाको बैठकमा विश्वासको मत दिन आग्रह गर्र्नु भएको हो ।

उहाँले प्रदेशसभामा विश्वासको मत माग्दा प्रमुख प्रतिपक्षी नेकपा एमालेले भने बैठक बहिस्कार गरेको छ ।

‘कर्ट्सीकै लागि भए पनि शुभकामना प्राप्त होला भन्ने ठानेको थिएँ’ उहाँले भन्नुभयो “यति पाको राजनीतिक पार्टी राम्रै संस्कार होला भन्ने थियो । सत्ता बहिर्गमनको आक्रोश भए पनि आन्दोलनको सहयात्री हुनुको नाताले कर्टसीकै रुपमा भए पनि अगाडि बढाउनुपर्थ्यो ।”

‘मलाई विश्वासको मत नदिनुपर्ने कारण नै छैन’ मुख्यमन्त्री केसीले भन्नुभयो । विपक्षी एमालेलाई आवेग, इर्श्या र बदलावको भाव नराख्न मुख्यमन्त्री केसीले आग्रह गर्नुभयो ।

आफू मुख्यमन्त्री बनेपछि एमालेले शुभकामना पनि नदिएको केसीले गुनासो गर्नुभयो। संविधानले निर्दिष्ट गरे अनुसार विपक्षी दलसंग पनि संवाद, सहमति र सहकार्य गरेर अघि बढ्न सरकार प्रतिवद्ध रहेको मुख्यमन्त्री केसीले बताउनुभयो।

लोकतन्त्र र संविधानको रक्षा तथा संघीयता कार्यान्वयन सरकारको प्राथमिकता हुने मुख्यमन्त्री केसीले बताउनुभयो । कोभिड–१९ लाई नियन्त्रण र रोकथाम नव गठित सरकारको पहिलो प्राथमिकता हुने मुख्यमन्त्री केसीले बताउनुभयो ।

एमाले भन्छः हामीसँग सल्लाह भएन

तर नेकपा एमालेले भने सांसद अजय शाही र विमलाकुमारी खत्री वलीलाई कारबाही नगरेसम्म प्रदेशसभाको बैठकमा सहभागी नहुने बताएको छ । त्यसै अनुसार मुख्यमन्त्रीले विश्वासको मत लिन बोलाएको बैठकमा एमालेका कोही पनि सांसद सहभागी भएनन् ।

एमालेले मुख्यमन्त्रीले विश्वासको मत लिनेबारे आफूहरुलाई जानकारी नभएको बताएको छ । एमाले संसदीय दलका उपनेता वैजनाथ चौधरीले भन्नुभयो “हामीले हाम्रो कुरा प्रदेशसभाको बैठकमा नै राखेका छौं, उहाँहरुले त्यसपछि सल्लाह गर्नुभएको छैन ।”

प्रतिक्रिया दिनुहोस !