रत्ननगर: बागमती प्रदेशका सामाजिक विकास मन्त्रीमा नियुक्त भएका चितवनका नेता कृष्णप्रसाद खनाललाई रत्ननगरमा स्वागत गर्दै बधाई दिइएको छ । रत्ननगर नगरपालिकाले कार्यक्रमको आयोजना गरी मन्त्री खनाललाई कार्यकालको सफलताको लागि बधाई दिएको हो ।
नगर प्रमुख नारायण वन,उपप्रमुख विमला दुवाडीले टोपी र दोसल्ला, वडाध्यक्ष, कार्यपालिका सदस्य तथा कर्मचारीहरुले खादा लगाइदिएर स्वागत तथा बधाई गर्नुभएको थियो । सो अबसरमा मन्त्री खनालले जनस्तरबाट बनेको रत्ननगर अस्पताल र जिल्ला आयुर्वेदिक अस्पतालको विकासको लागि ध्यान केन्द्रित गर्ने बताउनुभयो ।
रत्ननगर अस्पताललाई नमुना बनाउने र रत्ननगरमा रहेको जिल्ला आयुर्वेदिक अस्पताललाई रत्ननगरमै स्थापित गर्न आफुले भूमिका खेल्ने उहाँको भनाई छ । उहाँले विकास र बजेट विनियोजनलाई विबेकपूर्ण तरिकाले अगाडि बढाउने बताउनुभयो । समानुपातिक तरिकाले बजेट वितरण गरेर प्राथमिकताका आधारमा विकासका कामहरुलाई अगाडि बढाउने मन्त्री खनालले बताउनुभयो ।
मन्त्री खनालले सामाजिक विकास मन्त्रालयलाई भष्टाचारसंग जोडेर लागेको कालो दाग हटाउने प्रतिवद्धता जनाउनुभयो । कार्यक्रममा प्रमुख नारायण वनले रत्ननगरले शिक्षा राज्य मन्त्री पछि दोश्रो मन्त्रीको रुपमा प्रदेश अन्तर्गतको सामाजिक विकास मन्त्री पाएको भन्दै रत्ननगरको आर्थिक तथा सामाजिक विकासलाई उचाईमा पु¥याउने अबसर प्राप्त भएको बताउनुभयो ।
कार्यक्रममा उपप्रमुख विमला दुवाडी,जिल्ला आयुर्वेदिक अस्पतालका अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठ,वडा नं २ का वडाध्यक्ष तिलकराज शर्मा,निमित्त प्रमुख प्रशासकीय अधिकृत बद्रिनारायण शर्मा लगायतले मन्तव्य राख्नुभएको थियो ।








