चितवनः सुजिता भण्डारी मृत्यु प्रकरणमा जिल्ला अदालत चितवनले आरोपीलाई ५० हजार धरौटी माग गरेको छ । आरोपी सुकदेव भण्डारीले जरिवाना बुझाउन नसकेपछि आज कारागार चलान भएका छन् ।

अदालतका श्रेस्तेदार इश्वर आचार्यका अनुसार जिल्ला न्यायाधिश प्रकाशकुमार अधिकारीको ईजलासले थुनछेक बसपछि निजलाई ५० हजार धरौटी माग गरेको हो ।

मृतक सुजिताको ठूलो बुबाका छोरा सुकदेव विरुद्ध आइतबार चितवन जिल्ला अदालतमा आत्महत्या दुरुत्साहनमा मुद्दा दायर भएको थियो । आमा अम्बिका भण्डारीले सुकदेवविरुद्ध चितवन प्रहरीमा साउन ६ गते उजुरी दिनुभएको थियो । त्यसको भोलिपल्टै प्रहरीले सुकदेवलाई काठमाडौंबाट पक्राउ गरेको थियो ।

राप्ती नगरपालिका–३ की २३ वर्षीय सुजिता असार ११ गते बिहानै घरबाट निस्केकी थिइन् । अपहरणमा परेको भन्ने परिवारले दिएको सूचनाका आधारमा प्रहरीले सुजिताको खोजी गरेको थियो । तर घरबाट निस्केको नौ दिनपछि असार २० गते साँझ उनको शव जंगलमा भेटिएको थियो । काठमाडौं त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टम भए पनि मृत्युको कारण खुल्न सकेको छैन । भिसेरा परीक्षणका लागि नमुना पठाईएको छ ।

प्रतिक्रिया दिनुहोस !