चितवनः भरतपुर अस्पतालले यहाँ उपचार गर्न आउने बिरामीहरुलाई अत्याबश्यक अबस्था बाहेक अन्य समयमा अस्पताल नआउन अनुरोध गरेको छ । अस्पतालका निमित्त मेडीकल सुपरिटेण्डेन्ट डा. जगन्नाथ तिवारीले आज सार्वजनिक सूचना जारि गर्दै कोरोनाका बिरामीहरुको चाप अस्पतालमा वढ्दै गएकाले आबश्यक अबस्थामा मात्रै अस्पताल आउन अनुरोध गर्नुभएको हो ।
सूचनामा भनिएको छ “अस्पतालमा कोभिड सङ्क्रमितको उपचारका लागि छुट्याईएको शैंया संख्या भन्दा वढी संख्यामा बिरामीहरुको उपचर गर्नु परेको, सघन उपचर कक्ष, एचडियु, भेन्टिलेटर एबं अक्सिजन आबश्यक पर्ने बिरामीको संख्या अत्याधिक रहेको तथा कोभिड सङ्क्रमित बिरामीको मुत्यूदर उच्च रहेको सन्दर्भमा आगामी दिनहरुमा कोभिड सङ्क्रमित बिरामीको उपचार व्यवस्थापन थप कठिन हुदैं जाने देखिन्छ ।”
अत्याबश्यक काम नपरि घर बाहिर ननिस्कने तथा जथाभावि नडुल्ने, घरबाट बाहिर निस्कनै पर्ने भएमा जनस्वास्थ्य तथा सुरक्षा मापदण्डहरु पूर्णरुपमा पालना गर्न सूचनामा सबैलाई अपिल गरिएको छ ।






