चितवनः कोरोना बढ्दै जाँदा जिल्लामा निषेधाज्ञाको समय थप गरिएको छ । निषेधाज्ञा थप भए पनि यहाँका राजनैतिक दलहरुले निषेधाज्ञाको उल्लंघन गर्दै आएको छ । सत्तारुढ दल नेकपा माओवादी केन्द्रले चितवनमा निषेधाज्ञाको समयमा वडा भेलाहरु गरेर मानिस बटुल्ने र जम्मा गर्ने काम गरिरहेको छ । जिल्लाका शिर्ष नेता तथा प्रदेश सभा सदस्यहरुको उपस्थितिमा भरतपुर महानगर वडा नम्बर एक र माडी नगरपालिका वडा नम्बर ६ मा भेला गरेको हो ।
भरतपुर महानगरपालिकामा गरिएको कार्यक्रममा महानगर प्रमुख, जिल्ला अध्यक्ष, प्रदेश सभा सदस्यको उपस्थिति रहेको देखिन्छ । सामाजिक सञ्जालमा राखिएका तस्बिरहरुमा अतिथिहरुलेनै माक्स नलगाई बसेको देखिएको छ । कार्यक्रममा ६५ जना बिभिन्न पार्टी परित्याग गरि माओवादी केन्द्रमा प्रबेश गरेका थिए ।
नारायणगढको जेसिस भवनमा गरिएको सो भेलामा पार्टी प्रवेशको गतिविधि समेत गराइएको थियो । जिल्ला प्रशासनले चितवनमा कोभिड–१९ को डेल्टा भेरियन्ट देखिएकाले सतर्क बन्न आग्रह गर्दै पटक पटक सार्वजनिक सूचना पनि जारी गरेको छ । साउन ३२ गतेसम्म थपिएको निशेषाज्ञा कडाइ गर्ने प्रचार पनि भएको थियो ।
यसै क्रममा माडीमा १ सय २० जनाको उपस्थितिमा कार्यक्रम गरिएको छ । त्यहाँ उपस्थित हुनेहरुले मास्क नलगाएको देखिन्छ । माडीमा भएको भेलाले नगर प्रमुख ठाकुर ढकाल सहितको उपस्थिति रहेको थियो ।
भौतिक रुपमा उपस्थित भई हुने सबै सभा सम्मेलन, प्रदर्शन, जात्रा, महोत्सव गर्न नपाइने आदेश गरिएको थियो । तर, सत्तारुढ दलबाटै आदेश उल्लंघन हुँदै आएको पाइएको छ । चितवनका सिडियोले स्वास्थ कार्यालय चितवनले केही दिन पहिले गरेको भर्चुअल पत्रकार सम्मेलनमा जिम्मेवार व्यक्तिबाट निषेधाज्ञा उल्लंघन भएको स्वीकार गर्नु भएको थियो । उहाँले सूचना पाए कारवाही गर्ने प्रतिवद्धता पनि जनाउनुभएको थियो । मेयर दाहालले वडा भेलाका फोटाहरु सामाजिक सन्जालमै राख्नु भएको छ ।
यस बिषयमा बुझ्न खोज्दा माओवादी केन्द्रका अध्यक्ष यमबहादुर परियारले कोरोना सङ्क्रमण प्रति आँफुहरु सचेत रहेको बताउनुभयो । लकडाउनलाई पालना गर्दै सामाजिक दुरी कायम गरेर भेला आयोजना गरिएको उहाँले बताउनुभयो । तर भेलाहरुमा भने सामाजिक दुरी कायम गरेको देखिएन ।








