चितवन, : चितवनमा दस्तखत किर्ते तथा चोरीमा संलग्न ३ जना पक्राउ परेका छन् । प्रहरिले चितवनका विभिन्न ठाउँबाट चोरी गरेको आरोपमा एक जना र चोरी र सरकारी छाप दस्तखत किर्ते मुद्दामा फरार रहेका दुई जनालाई पक्राउ गरेको हो ।
चोरिको आरोपमा प्रहरिले राप्ती नगरपालिका वडा न.१२ धाङवाङगैरी घर भई हाल रत्ननगर नगरपालिका वडा न. ९ जानकीटोल बस्ने २८ वर्षीय केशव प्रजालाई रत्ननगर नगरपालिका र कालिका नगरपालिकाका विभिन्न ७ स्थानबाट ८ लाख ९९ हजार ९६१ रुपैयाँ चोरी गरेको आरोपमा नगदसहित पक्राउ गरेको हो ।
उनले विभिन्न मितिमा रातको समयमा घर कोठामा मानिसहरु सुतिरहेको मौका पारी घर भित्र प्रवेश गरी नगद तथा सुनका गरगहनाहरु चोरी गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । उनलाई चोरी सम्बन्धी कसुर मुद्दामा जिल्ला अदालतवाट म्याद अनुमती लिई थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।
त्यस्तै जिल्ला अदालत चितवन र धादिङको दुई वर्ष अघिको फैसलामा वन पैदावर चोरी र सरकारी छाप दस्तखत किर्ते मुद्दामा फरार रहेको दुई जनालाई चितवन प्रहरीले पक्राउ गरेको छ ।
२ लाख ६ हजार ९६० जरिवाना तोकिई फरार रहेका प्रतिवादी खैरहनी नगरपालिका वडा नम्बर १ का ३० वर्षीय बिनोद बुर्लाकोटी र सरकारी छाप दस्तखत किर्ते मुद्दामा एक वर्ष कैद र नगद ५० हजार जरिवाना तोकि फरार रहेका चितवन चैनपुर गाविस वडा नम्बर २ घर भई हाल खैरहनी नगरपालिका वडा नम्बर २ बस्ने २६ वर्षीय संजोग भट्टलाई पक्राउ गरेको हो । दुवै प्रतिवादीलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालतमा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।






