चितवन, २४ साउन । जिल्ला प्रशासन कार्यालय चितवनले आज आईतबार रातीदेखि चितवनको निषेधाज्ञामा कडाई गरेको छ । यस अघि सञ्चालन गरिंदै आएका सवारी र पसलहरु अब नियमित सञ्चालन गर्न पाईने भएको हो ।
प्रशासनद्वारा जारी सूचना निम्न अनुसार सञ्चालन गर्न पाईने व्यवस्था गरिएको छ :
- खाद्यान्न, तरकारी, फलफूल, दूध डेरी, माछा–मासु, अण्डा, चल्ला, दाना, खाना पकाउने ग्याँस सम्बन्धी, एग्रोभेट, बिउबिजन, रासायनिक मल र भेटेनरी औषधि, पूजा सामग्री पसल दैनिक बिहान १० बजेसम्म मात्रै सञ्चालन गर्न पाईने छ ।
- इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स पसल, भाँडा पसल, कपडा, फेन्सी, कस्मेटिक तथा गिफ्ट, सुनचाँदी, फर्निचर तथा फर्निसिङ, अटोमोर्बाल, मोटरपाट्र्स, जुत्ता, चप्पल, टेलरिङ, पुस्तक तथा स्टेशनरी, वर्कशप, निर्माण सामग्री लगायतका व्यापारिक पसल आइतबार, मंगलबार र बिहीबार दिउँसो १२ बजेदेखि साँझ ६ बजेसम्म मात्रै सञ्चालन गर्न पाईने ।
- खाजा घर, रेष्टुरेन्ट र मिठाई पसलहरु दिउँसो १२ बजेदेखि बेलुका ६ बजेसम्म मात्रै सञ्चालन गर्न पाईने ।
- बैंक तथा वित्तिय संस्था र सहकारीहरुले सेवा सञ्चालन गर्न पाईने तर घरदैलोमा गई रकम संकलन तथा समूह भेला गर्न नपाईने ।
- उद्योग कलकारखानाको हकमा जनस्वास्थ्यका निर्धारित मापदण्ड पालना गरी सञ्चालन गर्ने । नियमित कामदारहरुको स्वास्थ्य परीक्षणको व्यवस्था गर्ने ।
- होटल/लज सञ्चालन सम्बन्धमा जनस्वास्थ्यका निर्धारित मापदण्ड पालना गरी कूल कोठा संख्याको एक तिहाई नबढ्ने गरी सञ्चालन गर्न पाईने ।
- जिल्लाभित्र सञ्चालन हुने सार्वजनिक तथा निजी सवारीसाधन जोर गते जोर नम्बर र विजोर गते विजोर नम्बरका सवारी साधन सञ्चालन गर्न पाईने छ । तर सिट क्षमताभन्दा बढी यात्रु राख्ने पाईने छैन । सबै यात्रुहरुले अनिवार्य रुपमा मास्क लगाएको हुनुपर्नेछ । मास्क नलगाउने यात्रुहरुलाई सवारीमा प्रवेश गर्न नदिईने । चालक र सहचालकले अनिवार्य मास्क र भाइजर लगाउनु पर्ने ।








