चितवनः कालिका नगरपालिका वडा नम्बर ७ का टिका वहादुर विश्वकर्मा अहिले आफ्नो वस्ने घर मर्मत गर्न नपाएर समस्यामा हुनुहुन्छ । उहाँ वि. सं. २०७२ सालमा आएको भूकम्पमा परि बिस्थापित भएर इच्छाकामना गाउँपालिका वडा नम्बर २ गुछिवाङबाट यहाँ आउनु भएको हो । उहाँ कालिका नगरपालिका वडा नम्बर ७ जुटपानीमा आएर बसेको ७ वर्ष लागेको छ । उहाँले अहिले बसेको ठाउँमा अस्थायी रुपमा समेत घर मर्मत गर्न पाउनु भएको छैन ।
उहाँ तत्कालीन समयमा आरआरएन नामक संस्थाबाट निर्माण गरिएको टहरामा दिन विताउँदै आउनुभएको छ । अहिले त्यो घरमा पानी पर्दा पानी नै भित्र छिर्ने गर्छ । हावाहुरी आउँदा घरनै भत्काउँछ की जस्तो हुन्छ । तर उहाँले सोही स्थानमा घर मर्मत गर्न र नयाँघर वनाउनका लागि स्थानिय तहसंग कुरा गर्दा नमिल्ने भने पछि अहिले बर्षातको समयमा उहाँ पानी परेपछि त्यो पानी फालेर मात्रै घर भित्र पस्ने गर्नु हुन्छ ।
सो स्थानमा घर निर्माणका लागि आग्रह गर्दा स्थानिय तह र प्रशासनले रोक लगाए पछि घर निर्माण समेत गर्न सक्नुभएको छैन । उहाँले भन्नुभयो “पुरानो थलो जाउँ घर वनाउनु पर्छ । भूकम्पले हजुरआमा लग्यो । अब त्यहाँ जान मन छैन । यहाँ घर वनाउन पाईदैन ।” तत्कालीन समयमा प्रमुख जिल्ला अधिकारी र जनप्रतिनिधिहरुले अब यहाँ आउनु पर्दैन भन्दै आँफुहरुलाई यहाँ ल्याएको भन्दै उहाँले थप्नुभयो “हामीलाई घर वनाउन नदिए अब हामी आन्दोलन गर्छौं ।”
सोही स्थानमा भूकम्प पछि बिस्थापित भएर आउनु भएका केशरलाल विश्वकर्मा आँफुहरुलाई राज्यले भूटानी शरणार्थीलाई भन्दा पनि तल्लो व्यवहार गरेको वताउनुभयो । उहाँले भन्नुभयो “सरकारले भूटानी सरणार्थीलाई त व्यवस्थित तरिकाले राखेको छ । हामी भूकम्प पिडितलाई घर वनाएर बस्छौं भन्दा पनि दिएन ।” तत्कालिन समयमा आँफुहरुलाई दिइएको आश्वासन पुरा नभएकाले आँफुहरु अब घर यही वनाएर बस्ने पक्षमा रहेको उहाँले बताउनुभयो । तत्कालिन समयमा गुछिवाङ्बाट २४ घरलाई यहाँ ल्याएर स्थानान्तरण गरिएको भए पनि अहिले सम्म व्यवस्थित बसोबास वा आफ्नै थलो र्फकाउन नसक्दा त्यहाँ अहिले २८ घर धुरी भई सकेका छन् । त्यहाँ २ सय ५० जना भन्दा वढि बसोबास गर्दै आएका छन् ।
भूकम्पका कारण आँफुहरु बिस्थापित भएर यहाँ आए पछि बासको मात्रै व्यवस्था भएको भन्दै त्यहाँ बस्दै आएकाहरुले राज्यबाट पाउने सुबिधाबाट बन्चीत बन्नुपरेको गुनासो गरेका छन् । सोहि स्थानमा बसोबास गर्दै आउनु भएका विरवहादुर विश्वकर्मा आँफुहरुलाई राज्यले कालिका वडा नम्बर ७ जुटपानिमानै बस्न दिनु पर्ने बताउनु हुन्छ । घर वनाउनका लागि मात्रै भए पनि जग्गा उपलव्ध गराएर यही राख्नु पर्ने उहाँको भनाई छ । उहाँले भन्नुभयो “हाम्रो पहाडमा जग्गा छ । तर त्यहाँ बस्न योग्य छैन भनेर ल्याईयो अब हामी त्यहाँ कसरी गएर बस्ने ।” ज्यान भन्दा धन ठूलो नहुने भन्दै उहाँले भन्नुभयो “अब हामी जाने पक्षमा छैनौ । यही व्यवस्थापन हुनु पर्छ ।”
आँफुहरुले स्थानीय तह देखि सबै सरोकारवाला निकायको ध्यान केन्द्रित गराउँदा पनि माग सुनुवाई नभएको मदन विश्वकर्मा बताउनु हुन्छ । उहाँले भन्नुभयो “हामीले व्यवस्थित वसोबासका लागि इच्छाकामना गाउँपालिका, कालिका नगरपालिका, जिल्ला समन्वय समिति र जिल्ला प्रशासन कार्यालयलाई आग्रह धेरै पटक ग¥यौ । समस्या समाधान हुन सकेन ।” आँफुहरुको माग सुनुवाई नभए पछि त्यहाँ रहेको समुदायले आँफै आबास वनाउने तयारीमा लागेका छन् । त्यहाँ रहेका २८ परिवारनै दलित समुदाय हो । उनीहरुले अहिले दैनिक ज्यालादारी र बैदेशीक रोजगारीको कमाईले घरखर्च चलाई रहेका छन् ।
भूकम्पबाट प्रभावित भएर स्थानान्तरणमा पर्नु भएकी मनमायाँ विश्वकर्मा बाँसको झुपडीमा बसेर दिन बिताउन कठिन भएको बताउनु हुन्छ । उहाँले भन्नुभयो “यहाँ आए पछि परिवारका सदस्य वढे । घर वनाउन पाईएन । अहिले टिनले बारेर बस्नु परेको छ ।”
जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटी भूकम्प प्रभावित उनीहरुले अन्यत्र स्थानान्तरण गर्न खोज्दा नमाने पछि समस्या आएको बताउनुभयो । उहाँले भन्नुभयो “हामीले इच्छाकामना गाउँपालिका वडा नम्बर ७ पिपलटारमा स्थानान्तरणका लागि जग्गा हेरेको हो । तर उहाँहरु जान मान्नुभएन ।”भूकम्प प्रभावित भएर आए पछि उनीहरुले वडा कार्यालयमा समेत सम्पर्क नगरे पछि लाभग्राहीको सूचिबाट समेत हट्न मन्जुरी नामा दिएको उहाँले जानकारी दिनुभयो । अहिले बसेको स्थानमा कालिका नगरपालिका र त्यहाँका स्थानियले सहमति नदिएको भन्दै उहाँले अब उनीहरुको व्यवस्थापन इच्छाकामना गाउँपालिका र कालिका नगरपालिका मिलेर गर्नु पर्ने बताउनुभयो ।






