चितवन, : भरतपुर अस्पतालमा श्यया क्षमताभन्दा बढी कोरोना भाईरस (कोभिड–१९) संक्रमित बिरामी भर्ना भएका छन् । अस्पतालले कोरोनाका लागि ११० श्यया छुट्याएकोमा ११६ जना भर्ना भएका हुन् ।
अस्पतालका सूचनाअधिकारी लिलाधर पौडेलका अनुसार भर्ना भएका मध्ये तीन भेन्टिलेटरसहित २५ जना आईसियूमा, २५ जना एचडियुमा र ६६ जना साधारण बेडमा रहेका छन् ।
पौडेलका अनुसार पछिल्लो २४ घण्टामा २१ जना कोरोना संक्रमित भर्ना भएका छन् भने नौ जना डिस्चार्ज भएका छन् । यस अवधिमा दुई जनाको मृत्यु भएको छ । पौडेलले दिनुभएको जानकारी अनुसार अधिकांश बिरामीको अवस्था जटिल प्रकृतिको रहेको छ ।
अस्पतालको ओपिडि सेवामा पनि बिरामीको चाप उच्च रहेको छ । आजै एकै दिन एक हजार हाराहारीले ओपिडि सेवा लिएका छन् । सूचनाअधिकारी पौडेलका अनुसार आज मात्रै ८४४ जनाले ओपिडिबाट र १२९ जना इमर्जेन्सीबाट सेवा लिएका छन् । अस्पतालमा बिरामीको चाप बढी हुँदा संक्रमण नियन्त्रण गर्न झनै कठिन हुने देखिएको छ ।









