चितवनः स्वास्थ्य कार्यालय चितवनले जनप्रतिनिधिबाट कर्मचारी माथि दुव्र्यवहार भएको भन्दै गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । कार्यालयले आज जारि गरेको बिज्ञप्तीमा गत शुक्रबार प्रयोगशाला भवन खोप केन्द्रमा आफ्नो जिम्मेवारी पालना गर्दै खोप कार्यक्रम सञ्चालन भइरहेको अबस्थामा कर्मचारी माथि जनप्रतिनिधिबाट दुव्र्यवहार भएको जनाईएको छ ।
सो दिन भरतपुर महानगरपालिका वडा नम्बर १० का अध्यक्ष अरुणपिडित भण्डारीले खोप केन्द्रमा रहेका कर्मचारीसंग भनाभन भएको भिडियो सामाजिक सञ्जालमा सार्बजनिक भएको थियो । बिज्ञप्तीमा भनिएको छ “महामारिमा आफ्नो र परिवारको जीवनलाई समेत धरापमा राखेर अहोरात्र खटिने स्वास्थ्य कर्मी तथा कर्मचारीलाई योगदानको कदर गर्दै अनुकरणीय कार्यको प्रशंसा एबं सहयोग गर्नुको साटो उल्टो धम्काउने र गालिगलोज गर्नु सर्वथा निन्दनिय कार्य हो ।” सबै सरोकारवाला निकायहरु मिलेर स्वास्थ्य कर्मीहरुलाई उच्च मनोवलका साथ काम गर्ने सुरक्षित बातावरण वनाईदिन विज्ञप्तीमा अनुरोध गरिएको छ ।
सेवा प्रदानका सम्बन्धमा भएका गुनासाहरु बिधि र प्रकृया अनुसार राख्न समेत अनुरोध गरिएको छ । कार्यालयका प्रमुख दिपक प्रसाद तिवारीद्धारा जारी विज्ञप्तीमा स्वास्थ्यकर्मी तथा कर्मचारीको मनोवल खस्किन नदिई कार्य प्रेरणा वढाउनुको साथै यस प्रकारको घटना भविश्यमा दोहोरीन नदिन आग्रह गरिएको छ ।






