चितवनः भरतपुर महानगरपालिका वडा नम्बर १ देवघाटमा गाई मरेका छन् । रेविजका कारण गाइ मरेको अनुमान गरिएको छ । महानगरका पशु बिकास अधिकृत मेघराज ढकालका अनुसार देवघाट क्षेत्रमा रेविज रोगका कारण चारवटा गाई मरेका हुन ।
मरेका गाइमा रेविजको लक्ष्यण देखिए संगै त्यस आसपासमा रहेका पशु चौपायलाई रेविज बिरुद्धको खोप लगाईएको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “देवघाटमा मरेका गाईहरुमा रेबिजको लक्ष्यण देखिएकाले त्यस क्षेत्रका २४ वटा गाइमा रेविजको खोप लगाइएको छ ।” गाई मरेको खबर पाए संगै पशु चिकित्सक सहितको टोलीले सो क्षेत्रको अध्ययन गर्दा ती गाई रेविजले मरेको पाइएको हो । माहानगरको पशु शाखामा रहेको ६० डोजले नपुगेर खरिद गरि तत्काल ती पशुलाई पाँच डोजको दरले खोप लगाईएको छ । सो क्षेत्रमा छाडा रुपमा गाई छाडीएका छन् । घरहरुमा पनि गाइ पालिएको छ । पुण्यभूमि भएकाले देवघाटमा बसोबास गर्नेहरुले पशुचौपाया पाल्दा गाइनै पाल्ने गर्दछन् ।
उहाँका अनुसार रामपुर क्षेत्रमा पनि तीन वटा भैसी मरेको भए पनि ती भैसी के कारणले मरेका हुन भन्ने विषयमा भने अध्ययन भईरहेको छ । अन्य क्षेत्रमा भने त्यस्तो समस्या नदेखिएको उहाँले जानकारी दिनुभयो ।
कुकुर र जंगली जनावरको टोकाईबाट सर्ने यस रोगको सङ्क्रमण देखिने भएकाले जंगलको आसपासमा रहेका कृषकहरुलाई सतर्कता अपनाउन र लक्ष्यण देखिए तत्काल खवर गर्न अनुरोध गरिएको ढकालले वताउनुभयो ।








