चितवनः जिल्लामा ९३ हजार बढीले कोरोना विरुद्धको पहिलो मात्रा खोप लगाएका छन् । दुई वटा फरक फरक कम्पनीका गरी ९३ हजार ३७२ जनाले खोप लगाएका हुन् । ती मध्ये २३ हजार ९३८ जनाले दोस्रो डोज लगाईसकेका छन् ।

स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपकप्रसाद तिवारीका अनुसार जिल्लामा गत माघबाट खोप अभियान सञ्चालन भएको हो । शुरुमा कोभिसिल्ड खोप लगाईएको थियो । पहिलो डोज ३९ हजार ८७९ जनाले लगाएकोमा दोस्रो डोज १३ हजार १७२ जनाले मात्रै लगाएका छन् । कोभिडसिल्ड अन्यलाई बाँकी रहेको छ ।
त्यस्तै भेरोसेल ५३ हजार ४९३ जनाले पहिलो मात्रा लगाईसकेका छन् । ती मध्ये १० हजार ७६६ जनाले दोस्रो मात्रा पनि लगाएको तिवारीले जानकारी दिनुभयो ।

हालसम्म चितवनको जनसंख्याको १३.५ प्रतिशतलाई पहिलो मात्रा खोप लगाईसकिएको छ । जिल्लामा अनुमानित जनसंख्या ६ लाख ९७ हजार रहेको छ । समग्र देशको तुलनामा चितवनको खोप कभरेज बढी भएको तिवारीले बताउनुभयो । उहाँले भन्नुभयो “समग्र देशको ७ प्रतिशत हाराहारीलाई खोप लगाउँदा चितवनमा १३.५ प्रतिशतलाई खोप लगाईएको छ ।”

जिल्लामा खोप अभियान निरन्तर हुने भएको छ । यही साउन ११ गतेदेखि भेरोसेल र १४ गतेदेखि जन्सनको खोप अभियान सञ्चालन हुन लागेको छ ।
यी दुवै अभियान सम्पन्न भएपछि ५० वर्षभन्दा कम उमेर समूहका लागि अभियान सञ्चालन हुने भएको हो । स्वास्थ्य कार्यालय चितवनका प्रमुख तिवारीले भन्नुभयो “खोप अब नियमित हुन्छ, सबैले खोप पाउने अवस्था सिर्जना भएको छ ।” उहाँले अगाडि भन्नुभयो “आफ्नो समूहको पालो कुर्नुहोस्, धैर्य गर्नहोस्, सबैले खोप पाउनुहुन्छ ।” राज्यले नै प्राथमिकता तोकेर खोप वितरण गरिरहेको भन्दै उहाँले आ–आफ्नो समूहमा खोप लगाउन सबैसँग आग्रह गर्नुभयो ।

यसैबीच साउन ४ गतेदेखि सञ्चालित खोप अभियानमा मौज्दात सकिएका कारण स्थगन भएर भेरोसेल खोपको पहिलो मात्रा बाँकी रहेकाहरुलाई साउन ११ गतेबाट १३ गतेसम्म खोप लगाईने भएको छ । प्रमुख तिवारीका अनुसार ५५ वर्ष र सोभन्दा बढी उमेर समूहका, विद्यालय र विश्वविद्यालयका शिक्षक, कर्मचारी र प्राध्यापक, सार्वजनिक यातायातमा कार्यरत चालक र सहचालक र नेपाल सरकारले तोकेका अत्यावश्यक सेवामा संलग्न खोप लगाउन बाँकी व्यक्तिहरुलाई यो खोप लगाईने छ ।

यस्तै साउन १४ गतेदेखि जन्सनको खोप लगाउन शुरु गरिने तिवारीले जानकारी दिनुभयो । उहाँका अनुसार ५० देखि ५४ वर्ष उमेर समूहका, पूर्ण र अति अशक्त अपाङ भएका, हाल नेपालमा बसोबास गरिरहेका शरणार्थी र यस अघि छुटेका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र सफाईकर्मीलाई जन्सन खोप लगाईने छ ।

अबका दिनमा खोप अभियान नियमित हुने भएकाले खोप तालिकाको प्रचारप्रसार र खोप केन्द्रको व्यवस्थापन सम्बन्धित पालिकामा रहेको नगर खोप समन्वय समिति नै गर्ने छ । यस्तै वडा खोप समन्वय समितिले सम्बन्धित वडाको खोपको व्यवस्थापन र प्रचारप्रसार गर्ने तिवारीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस !